रेडियो मिसन, मेलम्ची ।
मेलम्ची नगरपालिका वडा नम्बर ८ क्यौरानीको प्रशासनिक भवनको उद्घाटन गरिएको छ । आइतबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यमा भवनको उद्घाट गरिएको वडा अध्यक्ष जित बहादुर तामाङले जानकारी दिनुभयो । भवनको उद्घाटन गर्दै नगर प्रमुख तामाङले जनताको नजिकको सरकार भनेकै स्थानिय तह भएकाले जनताको दुःख सुख दुःखको सारथी बनेर सेवा दिनुपर्ने बताउनुभयो । उहाँले हिजोको दिनमा जेजस्तो समस्या भए पनि आगामि दिनमा सेवा प्रबाहमा नागरिकलाइ कुनैपनि झन्झट हुननहुने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धितालले कतिपय काम बाकि रहेको र संरक्षणको काम गर्नपर्ने भन्दै ति कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । आगामि बर्षबाट स्वास्थ्य चौकिको सेवा समेत वृद्धि गर्ने योजना रहेको सुनाउदै अधिकृत धितालले तिर्न बाकी राजस्व तुरुन्त तिर्न आग्रह गर्नुभयो । उहाँले वडाको उठेको राजस्वको आधारमा आगमि बर्षबाट नगरले बजेट बिनियोजन गर्ने योजना रहेको सुनाउदै धेरै भन्दा धेरै राजस्व संकलन गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् वडा नम्बर ८ का वडा अध्यक्ष जितबहादुर तामाङले गाउँका नागरिकहरु अहिले बढि महत्वाकांक्षी हुँदै गएको बताउनुभयो । अध्यक्ष तामाङले बर्खाको समयमा पनि यातायात सहजरुपमा सञ्चालनका लागि दाउचेत, केउरिनि सडक स्तर उन्नतिका लागि आफुले पहल गरिरहेको बताउनुभयो । उहाँले मेलम्चीमा पुल नभएका कारण केउरिनि र दुवाचौर बासिले ब्यापक समस्या भोग्न पर्ने भन्दै पुल निर्माणका लागि प्रदेश र केन्द्रमा पहल गर्न नगरपालिकालाई आग्रह गर्नुभयो ।

वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङले गाउँ गाउँमा सिंह दरबार भन्ने नारालाई हाम्रा गाउँमा बनेका यस्ता पक्की र सुन्दर भवनले मूर्तरुप दिएको दावि गर्नुभयो । निवर्तमान वडा अध्यक्ष ठंकराज गिरीले सुन्दर भवन बाट सुन्दर सेवा वडा बासिले पाउने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले जुन उत्सुकता र खुशियालिमा वडा बासिको उपस्थिति हुनुपर्थ्यो त्यो अनुसार नभए पनि एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै खुशि ब्यक्त गर्नुभयो ।
१ करोड ४२ लाख लागतमा निर्माण भएको भवनबाट अब वडाबाट दिइने सबै सेवा सहजरुपमा प्रदान गर्न सकिने छ ।