अनियमितताको समाचार भ्रामक भएको इन्द्रावती गाउँपालिकाको दाबी, बेरुजु ०.४६ प्रतिशत मात्रै

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

नवलपुर । इन्द्रावती गाउँपालिकाले पालिकामा एक करोड ६३ लाख रुपैयाँभन्दा बढी अनियमितता भएको भन्ने समाचारको खण्डन गरेको छ। गाउँपालिकाले उक्त समाचार तथ्यहीन, कपोलकल्पित र भ्रामक भएको दाबी गरेको हो।

गाउँपालिका अध्यक्ष झम्क नेपालद्वारा जारी प्रेस विज्ञप्तिमा गत कार्तिक १३ गते प्रकाशित ‘स्थानीय तहमा मौलाएको अनियमितता : इन्द्रावती गाउँपालिकामा १ करोड ६३ लाख ५८ हजार २६६ रुपैयाँको अनियमितता’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

गाउँपालिकाका अनुसार महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को अन्तिम लेखापरीक्षण प्रतिवेदनमा समाचारमा उल्लेख गरिएको रकमसँग मेल खाने विवरण छैन। विगतका बेरुजु घटाउँदै लगेको उल्लेख गर्दै गाउँपालिकाले सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये सबैभन्दा कम ०.४६ प्रतिशत बेरुजु रहेको दाबी गरेको छ।

त्यस्तै, वित्तीय तथा संस्थागत क्षमता मूल्याङ्कन (LISA) मा देशभरका ७५० गाउँपालिकामध्ये दोस्रो, संस्थागत क्षमता स्वमूल्याङ्कन (FRA) मा दोस्रो तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको मूल्याङ्कनमा जिल्लामै पहिलो स्थान हासिल गरेको विज्ञप्तिमा उल्लेख छ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रको मूल्याङ्कनमा समेत गाउँपालिकाभित्रका माध्यमिक विद्यालय जिल्लामै दोस्रो स्थानमा रहेको गाउँपालिकाको दाबी छ।

गाउँपालिकाले पूर्वाग्रह र व्यक्तिगत स्वार्थबाट प्रेरित भएर तथ्यहीन तथा भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीलाई आग्रह गरेको छ। व्यावसायिक पत्रकारिताको मर्मअनुसार खोजमूलक, निष्पक्ष र तथ्यमा आधारित समाचार प्रकाशन गर्न पनि विज्ञप्तिमार्फत अनुरोध गरिएको छ।

विकास निर्माण तथा सेवा प्रवाहका क्रममा देखिएका कमीकमजोरी सुधार गर्दै अघि बढ्न गाउँपालिका सदैव प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ।

Leave a Reply