हेलम्बु, सिन्धुपाल्चोक
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गुम्बा निर्माणका लागि पनि सरकारले बजेट बिनियोजन गर्ने बताउनुभएको छ ।
हेलम्बु गाउँपालिका २ मेन्ज्येमा निर्माण गरिएको ओग्र्येन साङ्ङाग देछ्येन छयोलिङ गुम्बाको शनिबार समुद्घाटन गर्दै मन्त्री बस्नेतले सरकारले यसै वर्षदेखि गुम्बा निर्माणका लागि बजेट विनियोजन गर्ने बताउनुभएकाे हाे । गुम्बा विकास समितिका पदाधिकारीले गुम्बा निर्माणमा सरकारले सहयोग गर्नु पर्ने माग राखेका थिए ।
स्वास्थ्य मन्त्री बस्नेतले स्थानीय जनताको आवश्यकता अनुसार काम गर्न आफू तयार रहेको बताउँदै आफूले निर्वाचनका बेला प्रतिवद्धता व्यक्त गरेका विकास निर्माणका काम पाँच वर्षमा पुरा गरिछाड्ने दावी गर्नुभयाे । बस्नेतले भन्नुभयो, ‘ यो वर्ष पनि हेलम्बुमा थुप्रै विकास योजना सुरु गरेका छौ । २६ करोड बजेट विनियोजन गरेका छौ । पाँच वर्षसम्म मैले प्रतिबद्धता गरेको भन्दा बढी काम गरेर देखाउने छु । ’ आपत विपत्मा बेला सँधै जनताको सारथी भएर काम गरेको स्मरण गर्दै मन्त्री बस्नेतले हेलम्बुमा ४ वटा स्वास्थ्य केन्द्र निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको र सडकलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि यसै वर्ष ३२ हजार जनशक्ति थप्ने प्रस्ताव गरेको बताउँदै स्वदेशमै चिकित्सा शिक्षा अध्ययन गर्न पाउने गरि काम गरिरहेको दावी गर्नुभयो ।
कार्यक्रममा पूर्व मन्त्री शेरबहादुर तामाङले विकास निर्माणका काममा सबै राजनीतिक दलहरूको एक मत हुनु पर्नेमा जोड दिँदै सरकारले दीर्घकालीन योजनाका साथ अगाडि बढ्नु पर्ने बताउनुभएको थियाे ।