मोहनबहादुर गिरीद्वारा इन्द्रावतीका स्वास्थ्य संस्थालाई २२ लाखभन्दा बढीका स्वास्थ्य सामग्री हस्तान्तरण

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

नवलपुर । सामाजिक व्यक्तित्व मोहनबहादुर गिरीले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाअन्तर्गत सञ्चालित स्वास्थ्य संस्थाहरूका लागि २२ लाख ५२ हजार १०० रुपैयाँ बराबरका मेडिकल उपकरण तथा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ।

स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्ने, स्वास्थ्य संस्थाहरूको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा आवश्यक उपकरणको अभावमा बिरामीले भोग्नुपर्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको हो। विशेषगरी गाउँमै आधारभूत स्वास्थ्य सेवा, मातृ तथा शिशु स्वास्थ्य सेवा र आकस्मिक उपचारलाई सहज बनाउने अपेक्षासहित यो सहयोग गरिएको जनाइएको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले स्वास्थ्य र शिक्षालाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। उहाँले आफू जिम्मेवारीमा आउनुअघिको अवस्थालाई आधार मानेर तथ्यांक संकलन तथा विश्लेषण गरी सोहीअनुसार योजना र बजेट परिचालन गर्दै आएको उल्लेख गर्नुभयो।

अध्यक्ष नेपालले जिम्मेवार निकायमा रहेका व्यक्तिले स्पष्ट परिकल्पना र लक्ष्य निर्धारण गर्नुपर्ने तथा त्यसको परिणाम कार्यान्वयनमा देखिनुपर्ने धारणा राख्नुभयो। सबै सरोकारवाला निकायले सकारात्मक सोचका साथ सहयोग गरे लक्ष्य र उद्देश्य हासिल गर्न सकिने उहाँको भनाइ थियो।

गाउँपालिकाका १३ वटा कार्यक्षेत्रमध्ये स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएको उल्लेख गर्दै उहाँले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो। दाताहरूको सहयोग र स्थानीय तहको पहलका कारण इन्द्रावतीमा स्वास्थ्य सेवाको पूर्वाधार विकास भइरहेको उहाँको भनाइ थियो। जिल्लामै दुईवटा पालिकास्तरीय स्वास्थ्य संस्था भएको स्थानीय तहका रूपमा इन्द्रावती रहेको तथा यहाँका बर्थिङ सेन्टरहरूलाई व्यवस्थित बनाइएको पनि उहाँले उल्लेख गर्नुभयो।



बिशेष अतिथी तथा दाता मोनबहादुर गिरीले कार्यक्रममा बोल्दै उहाँले गाउँपालिकाभित्रै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै यस्ता कार्यक्रमलाई सबैले अपनत्व लिनुपर्ने बताउनुभयो। कार्यक्रममा जनसहभागिता न्यून रहेको तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति र चासो अपेक्षाकृत कम देखिएकोप्रति उहाँले दुःख व्यक्त गर्नुभयो। विशेषगरी वडा अध्यक्षहरूको अनुपस्थितिलाई चिन्ताको विषयका रूपमा उल्लेख गर्दै स्वास्थ्य र शिक्षाजस्ता प्रत्यक्ष जनसरोकारका विषयमा सबै जनप्रतिनिधि तथा सरोकारवालाले चासो र जिम्मेवारी लिनुपर्ने धारणा राख्नुभयो। हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीको नियमित मर्मतसम्भार र संरक्षणको जिम्मेवारी स्थानीय सरकारले लिनुपर्नेमा समेत उहाँले जोड दिनुभयो।

यस अभियानको सुरुवातको पृष्ठभूमि, उद्देश्य, कार्यान्वयनका क्रममा देखिएका चुनौती तथा आगामी योजनाबारे श्यामबहादुर गिरीले कार्यपत्र प्रस्तुत गर्दै आफ्नो धारणा राख्नुभएको थियो। उहाँले स्वास्थ्य क्षेत्रको सुधारका लागि सामूहिक प्रयास, सामाजिक उत्तरदायित्व र निरन्तर सहयोग आवश्यक रहेको औँल्याउनुभयो।

कार्यक्रमका सभापति दानबहादुर ऐडीले सामाजिक सेवाको भावनासहित स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउनुभएकोमा मोहनबहादुर गिरीप्रति विशेष आभार व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य तथा शिक्षा क्षेत्रको विकासका लागि गरिएको सहयोग पुण्यको काम भएको उल्लेख गर्दै यसले दिगो विकासका लक्ष्य प्राप्तिमा समेत योगदान पुर्‍याउने बताउनुभयो। आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिन र थप सहयोगका कार्यक्रम अघि बढाउन उहाँले आग्रह गर्नुभयो।

त्यसैगरी, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अनिरुद्र तिमल्सिनाले स्वास्थ्य संस्थाहरूलाई आवश्यक मेडिकल उपकरण तथा स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा सहयोगदाता मोहनबहादुर गिरीप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस सहयोगले गाउँपालिकाको स्वास्थ्य सेवा सुधार गर्ने अभियानमा थप एउटा इँटा थप्ने काम गरेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सहयोग र अभियानले निरन्तरता पाउने अपेक्षा व्यक्त गर्नुभयो।

स्वास्थ्य क्षेत्रमा निजी तथा सामाजिक क्षेत्रबाट प्राप्त हुने सहयोगले स्थानीय स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि हुनुका साथै नागरिकलाई आफ्नै गाउँठाउँमा सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।

आज हस्तान्तरण गरिएका स्वास्थ्य समाग्रीहरु :-

Nebulizer (नेबुलाइजर / बाफ लिने मेसिन)

Weight Machine (त तौलने मेसिन / तराजु)

Breast Pump (ब्रेस्ट पम्प / दूध तान्ने मेसिन)

Glucometer (ग्लुकोमिटर / रगतमा चिनीको मात्रा जाँच गर्ने मेसिन)

Lancet (ल्यान्सेट / रगत निकाल्ने सानो सुई)

Oximeter (अक्सिमिटर / रगतमा अक्सिजन र नाडीको गति जाँच्ने यन्त्र)

Kidney Tray (किड्नी ट्रे / मिर्गौला आकारको मेडिकल ट्रे)

Digital BP Set (डिजिटल रक्तचाप नाप्ने मेसिन)

Oxygen Concentrator (१० लिटर) (अक्सिजन कन्सन्ट्रेटर)

Oxygen Concentrator (५ लिटर) (अक्सिजन कन्सन्ट्रेटर)

Nebulizer Mask (नेबुलाइजर मास्क)

कार्यक्रमको अवसरमा इलाका प्रहरी कार्यलय नवलपुर र प्रहरी चौकी भिमटारका प्रहरी कर्मचारीहरुको लागी न्यानो कपडा ट्र्याकसुट हस्तान्तरण गरिएको थियो ।

Leave a Reply