रेडियो मिसन, मेलम्ची ।
सुर्यमुखि साना किसान कृषि सहकारी संस्था लिमिटेड मेलम्ची नगरपालिका वडा नम्बर १ भोटेचौरको पशुधन सुरक्षण समितिको ८औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । समितिमा अहिले ५ हजार १ सय ९२ वटा पशुवस्तुको बिमा भएको पशुधन सुरक्षण समितिका अध्यक्ष गोविन्दप्रसाद चौलगाईंले जानकारी दिनुभयो । कार्यक्रमकि प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले सहकारीले ल्याएको बिमाको कार्यक्रमलाई आत्मसाथ गर्दै बाँकि रहेका पशुवस्तुको समेत बिमा गर्न आग्रह गर्नुभयो ।
उहाँले बिमाको महत्वबारे जानकारी गराउँदै बिमाका कारण हुने फाइदाबारे किसानहरुले बुझ्नुपर्ने बताउनुभयो । उपप्रमुख प्रधानले सहुलियतमा सहकारीले किसानको लागि ऋण उपलब्ध गराएको उल्लेख गर्दै ऋण लिएर ब्यबशायीक बन्न समेत सुझाव दिनुभयो । उहाँले नगरपालिकाले पनि किसानको लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै नगरबाट समेत सेवा लिन आग्रह गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि सहकारीका अध्यक्ष मित्रलाल चौलगाईंले ब्यबशायीक बन्ने किसानको लागि सहकारीले जतिपनि लगानी गर्ने बताउनुभयो । देशले आर्थिक संकटको सामना गरिरहेको अवस्थामा पनि सहकारी मार्फत ऋण लिएर आर्थिक उपार्जन गर्ने बाटो खुल्ला रहेको बताउनुभयो ।
अध्यक्ष चौलगाईंले संस्थालाई बलियो बनाउँदै सबै किसानको भविष्य उज्जवल बनाउन सहकारी लागिरहेको बताउँदै किसानलाई ब्यबशायिक बन्नका लागि र कृषि पेशामा आकर्षित गर्नका लागि सहकारीले गर्दै आएका विभिन्न कार्यक्रमको बारेमा जानकारी गराउनुभयो ।
कार्यक्रममा सबैभन्दा धेरै दुध विक्रि गर्ने र धेरै पशुबस्तुको विमा गर्ने किसानहरुलाई पुरस्कार सहित सम्मान समेत गरिएको छ । डेक्चि, बाल्टि, भिटामिन लगायतको सामाग्रि प्रदान गर्दै सम्मान गरिएको सहकारीका लेखाशाखा प्रमुख विना पोखरलले जानकारी दिनुभयो । अति विपन्न किसानहरुको लागि ३ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराएको सहकारीले नाफा कमाउने नभएर सेवा गर्ने र किसानलाई धनी बनाउने उद्धेश्य बोकेको अध्यक्ष चौलगाईंले जानकारी दिनुभयो ।
पशुधन सुरक्षण समितिका अध्यक्ष गोविन्द प्रसाद चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष नगेन्द्रप्रसाद खतिवडा, साना किसान विकास बैंक इलाका कार्यालय बनेपाका प्रबन्धक सरोज भट्टराई लगायतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा जरायटार साना किसान कृषि सहकारी संस्था लिमिटेड अन्तरगत उज्जवलतार सिर्जनशिल महिला समुहले सन्देशमुलक गित तथा नाटक प्रस्तुत गरेको थियो ।