सिन्धुपाल्चोक, चौतारा
चौतारा साँगाचोकगढी नगरपालिकाले पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरेको छ। नगर स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा नगर प्रमुख तथा नगर खोप समन्वय समिति संयोजक कृष्णप्रसाद सापकोटाको अध्यक्षता रहेको थियो।
कार्यक्रममा नगर उपप्रमुख सीता थापा, वडा नं. १३ का अध्यक्ष रामप्रसाद गौतम, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दीपक अर्याल, विभिन्न वडाका अध्यक्षहरू, स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सापकोटाले स्वास्थ्य क्षेत्रको दीर्घकालीन सुधारका लागि आवश्यक नीति निर्माणमा नगरपालिका सक्रिय रहेको बताउनुभयो। उहाँले ती नीतिहरूको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो। स्वास्थ्यकर्मीहरूको अथक मेहनत र समर्पणका कारण नगरपालिकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भइरहेको उहाँको भनाइ थियो।
कार्यक्रममा नगर उपप्रमुख सीता थापा, वडा नं. १३ का अध्यक्ष रामप्रसाद गौतम, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दीपक अर्याल, स्वास्थ्य शाखा प्रमुख दिनेश नेपाल लगायतले पूर्ण खोप अभियानको महत्व, बालबालिकाको स्वास्थ्य सुरक्षा तथा दिगोपनाका विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो।
नगरपालिकाभित्र खोप लगाउनुपर्ने उमेर समूहका बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखाले जनाएको छ। पूर्ण खोप सुनिश्चिततासँगै नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी र दिगो बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

