लाभगाउँ आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

लाभगाउँ। मेलम्ची नगरपालिका ८ लाभगाउँमा रहेको लाभगाउ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ।
लायन्स क्लब अफ काठमाडौँ चार्टर प्रेसिडेन्ट गट साइबर सिटी अफ काठमाडौँका सुवास तामाङ र समाजसेवी तथा मोहनीको राजा सुमन तामाङको संयुक्त आर्थिक सहयोगमा विद्यालयका सम्पूर्ण विद्यार्थीलाई २ हजार रुपैयाँभन्दा बढी मूल्यका ट्र्याकसुट सेट तथा आवश्यक स्टेसनरी सामग्री वितरण गरिएको हो।
विद्यालयका प्रधानाध्यापक दीपक खड्काका अनुसार विद्यार्थीहरूलाई कापी, कलमलगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो भने विद्यालयका शिक्षकहरूलाई समेत डायरी र रातो कलम प्रदान गरिएको थियो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष चेङ तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहयोगी संस्थाका प्रतिनिधि सुवास तामाङको प्रमुख आतिथ्यता तथा सुमन तामाङको विशेष आतिथ्यता रहेको थियो।सामग्री हस्तान्तरण गर्दै प्रमुख अतिथि र विशेष अतिथि तामाङद्वयले आगामी दिनमा पनि विद्यालयलाई आवश्यक सहयोग लिएर पुनः आउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रधानाध्यापकले अभिभावकको साथ र सहयोगबाट मात्रै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताउँदै विद्यार्थीलाई कक्षा उत्तीर्ण गराउने मात्र नभई उच्च अङ्क हासिल गर्न सक्षम बनाउने रणनीतिका साथ विद्यालय अघि बढिरहेको जानकारी दिनुभयो। साथै सहयोगीहरूलाई दोसल्ला ओढाएर सम्मान गर्दै निरन्तर सहयोगको अपेक्षासहित धन्यवाद व्यक्त गर्नुभयो।
विद्यार्थी, अभिभावक, स्थानीय बुद्धिजीवी तथा सरोकारवालाहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

Leave a Reply