मेलम्चीमा बालविवाह रोकथाम तथा न्यूनीकरण नीतिबारे सुझाव संकलन, नीति पारित र प्रतिबद्धता जारी

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची। बालविवाह रोकथाम तथा न्यूनीकरणका लागि जिल्लास्तरीय साझा नीति निर्माण गर्ने उद्देश्यले आयोजित सुझाव संकलन तथा नीति पारित कार्यक्रम आज मेलम्चीमा सम्पन्न भएको छ।

मेलम्ची नगरपालिकाको आयोजना, महिला आत्मनिर्भरता केन्द्र (मांक) र फेयरमेडको आर्थिक तथा प्राविधिक सहयोग एवं सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।

मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका उपप्रमुख, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बालविवाहका कारण, यसले बालबालिका तथा समाजमा पार्ने असर, रोकथामका चुनौती र न्यूनीकरणका उपायबारे छलफल गर्दै सहभागीहरूबाट सुझाव संकलन गरिएको थियो। प्राप्त सुझावका आधारमा बालविवाह रोकथाम तथा न्यूनीकरणसम्बन्धी नीति पारित गरिएको छ।

कार्यक्रमले बालविवाह अन्त्यका लागि स्थानीय तहबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने, समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने, विद्यालय तथा अभिभावकको भूमिका सशक्त बनाउने र बालविवाहविरुद्धका अभियानलाई निरन्तरता दिने विषयमा जोड दिएको छ।

कार्यक्रममा ग्लोबल फेयरमेडका एड्भाइजर निर्मला शर्मा, मांकका अध्यक्ष सञ्चमाया स्याङ्बो, फेयरमेडका टिम लिडर डम्बर सिं गुरुङ, उषा थापा लगायत संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण मांकका कार्यक्रम व्यवस्थापक कृष्णबहादुर गुरुङ र परामर्शदाता हर्क तामाङले गर्नुभएको थियो।

कार्यक्रमको समापनसँगै बालविवाह रोकथाम तथा न्यूनीकरणका लागि ‘मेलम्ची प्रतिबद्धता’ समेत जारी गरिएको छ।
कार्यक्रमबाट पारित प्रतिबद्धता–पत्रमा बालविवाह रोकथाम तथा न्यूनीकरण नीतिलाई आगामी २०८३ सालभित्र सबै स्थानीय तहका गाउँ तथा नगरसभाबाट पारित गर्ने प्रतिबद्धता जनाइएको छ। त्यस्तै, नीति कार्यान्वयनका लागि आवश्यक संरचना र स्रोतको व्यवस्थापन गर्दै वार्षिक नीति तथा कार्यक्रम र नियमित बजेटको व्यवस्था गर्ने तथा उद्देश्य मिल्ने सहयोगी निकायहरूको पहिचान र परिचालन गर्ने उल्लेख छ।

यसैगरी, बालविवाह रोकथाम तथा न्यूनीकरण नीतिलाई स्थानीय तहका अन्य नीति तथा विद्यमान कानुनी प्रावधानसँग सामञ्जस्य कायम गर्दै बाझिएका व्यवस्था संशोधन गरी एकरूपता ल्याउने प्रतिबद्धता गरिएको छ।

प्रतिबद्धता–पत्रमा बालविवाहलाई पूर्ण रूपमा अस्वीकार गर्ने, विवाह समारोहमा सहभागी हुनुअघि उमेर यकिन गर्ने र २० वर्ष नपुगी हुने विवाहमा सहभागी नहुने उल्लेख गरिएको छ। बालविवाह हुने कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, धार्मिक अगुवा, गुरु, पुरोहित तथा राष्ट्रसेवक कर्मचारीसमेत उपस्थित नहुने प्रतिबद्धता जनाइएको छ।

त्यस्तै, स्थानीय तहभित्र हुने विवाहहरूको नियमित अनुगमन गरी वार्षिक प्रतिवेदन तयार गर्ने, अभिलेखीकरण गर्ने र सम्बन्धित निकायमा पेस गर्ने व्यवस्था मिलाउने प्रतिबद्धता पनि गरिएको छ।

बालविवाह अन्त्यका लागि स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय, विद्यालय, अभिभावक र समुदायबीच समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउँदै साझा जिम्मेवारीका साथ अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।

परामर्शदाताका तर्फबाट नमुना नीति काे अाैचित्यता, मुख्य प्राथमिकता, संरचनात्मक व्यवस्था र अागामी कार्ययाेजना बारे प्रस्तुति राख्दै सराेकारवालाहरूबाट सुझाव संकलन गरि नीतिकाे अन्तिम रूप दिईएकाे थियाे ।

Leave a Reply