पाँचपोखरीमा जटिल रोगका बिरामीहरुलाई औषधी उपचारका लागि मासिक ५ हजार

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रेडियो मिसन, थाङ्पाल ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका दिर्घरोगका बिरामीहरुका लागि औषधी उपचारमा सहयोग गर्ने उदेश्यले मासिक ५ हजार दिन सुरु गरेको छ ।

नेपाल सरकारले यी चार रोगका बिरामीहरुलाई उपचारमा सहयोग गर्ने उदेश्यले कार्यविधि बनाएर उपचार खर्च उपलब्ध गराउन देशैभरका स्थानीय सरकारहरुलाई अनुरोध गरेको थियो ।

मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका,क्यान्सर रोगी र मेरुदण्ड पक्षघात विरामीलाई औषधि उपचार बापत खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ अनुसार पाँचपोखरी थाङ्पाल गाउँपालिकाले ३५ जना यो सँग सम्बन्धी बिरामीहरुलाई रकम जम्मा गरिदिन लागिएको गाउँपालिकाका अध्यक्ष टासि लामाले जानकारी दिनुभयो ।

अहिले सो विरामी हरुको खाता नम्बर र आवश्यक कागजपत्र संकलनको काम भइरहेको र अबको केहि दिनमै विरामीको खातामा रकम जम्मा गरिदिने गाउँपालिकाले जनाएको छ । बिरामीको खातामा गाउँपालिकाले उक्त कार्यविधि अनुसार सार्वजनिक सूचना मार्फत सबैलाई निवेदन माग गरेको र चिकित्सको रोग प्रमाणीत हुने कागजपत्रको आधारमा रकम बैंकमा जम्मा गरिदिने गाउँपालिकाका प्रमुख प्रशासकीय लक्ष्मण कुईकेलले जानकारी दिनुभयो ।

सुरुमा बिरामीहरुलाई ६ महिनाको ३० हजारका दरले सम्बन्धीत बिरामीको खातामा रकम जम्मा गरिदिने र पछि त्रैमासिक रुपमा बिरामीहरुको खातामा पैसा जम्मा गरिदिने भएको छ । अहिले साउन देखि कै रकम प्रदान गरिएको र पछि आउने बिरामीहरुलाई उहाँहरुको कागजपत्रको आधारमा रकम प्रदान गर्ने कुईकेलले बताउनुभयो ।

Leave a Reply