सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का भरत प्रसाद पराजुली निर्वाचित हुनुभएकाे छ । उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपाका माधव सापकोटालाई ७ हजार ८५ मतान्तरले पराजित गर्दै जित हासिल गर्नुभएकाे हाे ।
अन्तिम मत परिणाम अनुसार पराजुलीले २४ हजार ४ सय १२ मत प्राप्त गर्नुभएकाे छ भने भने सापकोटाले १७ हजार ३ सय २७ मत पाउनुभयाे। त्यसैगरी नेकपा एमालेका सरेश नेपालले ११ हजार ९ सय ६१ मत ल्याउँदा नेपाली कांग्रेसका जंग बहादुर लामाले ११ हजार २ सय ६१ मत प्राप्त गर्रनुभएकाे छ।
सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभामा निर्वाचित पराजुली ऊर्जा क्षेत्रसँग लामो समयदेखि जोडिएका व्यवसायी तथा लगानीकर्ताका रूपमा परिचित हुनुहुन्छ। उहाा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ का स्थायी बासिन्दा हुनुहुन्छ । १९ भदौ २०२५ मा जन्मिनुभएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गर्रनुभएकाे छ ।
पराजुली करिब दुई दशकभन्दा बढी समयदेखि जलविद्युत् क्षेत्रसँग सम्बन्धित विभिन्न आयोजनामा संलग्न रहँदै आउनुभएकाे छ। ऊर्जा क्षेत्रका परियोजनामा लगानी तथा व्यवस्थापनको अनुभव भएका पराजुलीफे नेपालभर ८० भन्दा बढी जलविद्युत् आयोजनासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा काम गरेको उल्लेख गरिएको छ ।
हाल पराजुली जुगल गाउँपालिकामा निर्माणाधीन ब्रह्मायणी खोला जलविद्युत् आयोजनामा प्रमुख प्रवर्द्धक तथा अध्यक्षका रूपमा संलग्न हुनुहुन्छ। उक्त आयोजनामा उहाँको लगानीसमेत रहेको बताइन्छ ।
निजी क्षेत्रको अनुभवलाई राजनीतिसँग जोड्दै उहाँले ऊर्जा विकास, स्थानीय रोजगारी सिर्जना, पूर्वाधार विस्तार र दिगो आर्थिक विकासलाई आफ्नो प्राथमिकता बनाउने बताउनुभएकाे छ। संसदीय अनुभव नभए पनि व्यवसायिक नेतृत्व, व्यवस्थापन क्षमता र ऊर्जा क्षेत्रको ज्ञानका कारण उहाँ नयाँ अनुहारका रूपमा मतदातामाझ चर्चामा आउनुभएको थियो ।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट माओवादी केन्द्रका माधव सापकोटा ३० हजार ४०८ मत ल्याएर निर्वाचित हुनुभएकाे थियाे। त्यतिबेला एमालेका सरेश नेपाल २७ हजार ६६ मतसहित दोस्रो हुनुभएकाे थियाे भने रास्वपाका उम्मेदवार दिनेश श्रेष्ठ ३ हजार ५०३ मतमा सीमित हुनुभएकाे थियाे।
यसपटक भने नयाँ अनुहारका रूपमा मैदानमा उत्रिनुभएका पराजुलीले विकास, सुशासन र परिणाममुखी राजनीतिलाई एजेन्डा बनाउँदै सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभामा विजय हासिल गर्रनुभएकाे छ ।
