रेडियो मिसन, नवलपुर ।
अपाङ्गता अधिकार सम्बन्धी एक दिने कार्यशाला गोष्ठी नवलपुरमा सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिका स्तरीय अपाङ्गता समन्वय समिती इन्द्रावती गाउँपालिकाको आयोजना र सप्रोस नेपालको आर्थिक सहयोगमा गाउँपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी झम्क नेपालले सेवा दिनु नै गाउँपालिकाको प्रमुख दायित्व भएको बताउँदै अब आउने अर्थिक वर्षको निती तथा कार्यक्रममा सबै क्षेत्र सँग समन्वय र सल्लहा गरेर सबैको कुरा समेट्ने बताउनुभयो । गाउँपालिकाले सबैको लागी निर्वहा गर्नु पर्ने भुमिका निर्वाहा गर्ने बताउँदै कुराहरु माथील्लो निकाय सम्म पुर्याउन पर्ने भए पनि सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रमका बिशेष अतिथी गाउँपालिकाकी उपाध्यक्ष सोभना तामाङले अपाङ्गताको क्षेत्रमा गर्नुपर्ने सहयोगमा कुनै कमी नहुने बताउनुभयो । हरेक महिनाको २५ गते अपाङ्गता समन्वय समितीको बैठक बसी परिचय पत्र बितरण गर्दै आएको स्मरण गराउँदै बिभिन्न संघ सँस्थाहरुसँग समन्वय गरी काम गरिरहेको र बिभिन्न सहयोगी सामाग्रीहरु बितरण गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका स्तरीय अपाङ्गता समन्वय समितीका अध्यक्ष बलराम शहा (आकाश)ले समिति मार्फत अपाङ्गताको क्षेत्रमा हालसम्म भएका कामहरुको जानकारी गराउँदै अबको आर्थिक वर्षको योजना तर्जुमामा पनि अपाङ्गता भएका ब्यक्तिहरुको समस्या समेट् गाउँपालिका अध्यक्ष समक्ष अनुरोध गर्नुभयो ।
सप्रोस नेपालका कार्यकारी अधिकृत सञ्जय शर्मा गुरागाईले अपाङ्गता भएका ब्यक्तिहरु पनि पहुँचमा पुग्न र अधिकार पाउन साथै अबरोधमा कमी ल्याउन परिचयपत्र बनाउन जरुरी रहेको धारण राख्नुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले गाउँपालिका भरी जम्मा ६३३ जान अपाङ्गता भएका ब्यक्तिहरुको तथ्याङ्क रहेको बताउँदै उनिहरु सबैलाई मुलधारमा ल्याउन आवश्यक रहेको बताउनुभयो । सपाङ्ग सरह सबैले सेवा सुबिधा पाउन पर्ने बताउँदै उहाँले अझै पनि अपाङ्ग मैत्री भौतिक संरचना बन्न नसकेको बताउँदै यसबारे सबैले सोच्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रमका प्रशिक्षक नर बहादुर लिम्बुले धेरै ठाउँमा अपाङ्गताको क्षेत्रमा छुट्याएको बजेट समेत अन्य क्षेत्रमा खर्च गर्ने गरेको गुनासो गर्नुभयो । अपाङ्गहरुलाई क्षमताको आधारमा ४ भागमा बिभाजन गरेको भए पनि १० प्रकारका अपाङ्गहरु हुने बताउनुभयो ।
वडा अध्यक्षहरुको तर्फबाट भनाई राख्दै वडा नम्बर ७ का अध्यक्ष रबिन्द्र कुमार खातीले अपाङगता नियतले नभई नियतीले हुने बताउँदै अपाङ्गता भएका ब्यक्तिहरुलाई पनि समान र सम्मान सहभागीता गराउनपर्नेमा जोड दिनुभयो । उनिहरुको लागी घर घरमै सेवाको पहुँच पुर्याउन पर्ने र आउँदो आर्थिक वर्षमा यो काम गर्न लागी पर्ने बताउनुभयो । साथै अधिकार दयाले दिने नभएको बताउँदै प्राप्त अधिकारलाई सहि ढंगले उपयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा अपाङ्ग वडा सञ्जालका प्रतिनिधीहरु वडा अध्यक्षहरु लगायत ५० भन्दा बढीको सहभागिता रहेको थियो ।