डढेलोले जिल्लाको जुगल र भोटेकोशी गाउँपालिकाको माथिल्लो भेगका महत्त्वपूर्ण मानिएका वनक्षेत्र सुखाप भएसँगै आगलागी नियन्त्रणमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार हालसम्म गौरीशंकर संरक्षण केन्द्रमा पर्ने भोटेकोशी, त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रसहित जुगल, लिसंखु पाखर गाउँपालिका गरी आधा दर्जन वन क्षेत्रको ८२ हेक्टर वन डढेलोले सखाप पारेको छ ।
मानवीय क्षति नभएको र अहिले सबै वन क्षेत्रमा लागेको आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले जानकारी दिनुभयाे । जिल्लाभरी गौरीशंकर संरक्षण र अन्य गरी आधा दर्जन वनमा भिषण आगलागी भएको थियो । हाल सबै वनको डढेलो नियन्त्रणमा आइसकेकाे प्रहरीले जनाएकाे छ ।
बिहीबार लिसखुंपाखर गाउँपालिका–२ को झ्याङवारी वन, वडा ५ को चरेडाँडा मुलकखर्क सामुदायिक वन र भोटेकोशी गाउँपालिका–५ को चन्द्रंखु शेर्पा घुमेलान सामुदायिक वनमा एकै समयमा आगो लागेको थियो । त्यहाँ आइतबार आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ ।
त्रिपुरासुन्दरी–१ घोर्थली गौरीशंकर संरक्षण क्षेत्रमा पर्ने पुर्के डाँडा वनमा बिहीबार लागेको आगो शनिबार निभाइएको छ । यहाँ हरित स्वयंसेवक टोलीबाट आगलागी नियन्त्रण गरिएको हरित स्वयंसेवक समूहका अभियान्ता शारदाप्रसाद चालिसेले बताबताउनुभयाे । जुगल–२ किप्चे रहेको स्याङ्जी सामुदायिक वनमा बिहीबारदेखि लागेको आगो आइतबार नियन्त्रणमा आएको छ ।
यहाँ वनमा आगो लागेको खबर पाएलगत्तै जुगल गाउँपालिकाको ढाँडेस्थित प्रहरी चौकीबाट सुरक्षाकर्मीसहित गाउँभरका स्थानीय सामुदायिक वन जोगाउन खटिएका थिए । तीन दिनअघि जुगल–७ को सिमाना पाटीचौरको खरानेफोदन सामुदायिक वनमा डढेलो लागेको थियो । त्यहाँ पनि विकट भूगोलका कारण आगो नियन्त्रणमा ल्याउन नसकिने अवस्था भएपछि स्थानीय र सुरक्षाकर्मी फर्किएका थिए । हाल त्यहाँ पनि आगो निभाइएको छ ।
चीन जोड्ने सीमाक्षेत्र भोटेकोशी–२ को लिपिङको शिरभेग लिपिङ वनक्षेत्रमा शुक्रबारदेखि लागेको आगो वनको मध्यभागमा थियो । ‘धेरै प्रयासपछि उक्त आगो शनिबार निभाइयो । त्यहाँमात्रै ३५ हेक्टर वन सखाप भएको देखिन्छ,’ डिएसपी यादवले भन्नुभयाे ।