मेलम्चीमा तिहारको अवसरमा यसै साता तीन ठूला खेलकुद प्रतियोगिता सम्पन्न

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची ।
तिहारको अवसरमा सिन्धुपाल्चोकको मेलम्चीमा यसै साता तीनवटा ठूला खेलकुद प्रतियोगिता सम्पन्न भएका छन्। जिल्ला स्तरीय भलिबल प्रतियोगिता, शिक्षक भलिबल प्रतियोगिता तथा तेस्रो मेलम्ची मेयरकप ब्याडमिन्टन प्रतियोगिताले मेलम्चीलाई खेलकुदमय बनाएको छ।

योङ स्टार युवा क्लब मेलम्ची–७ को आयोजना तथा मेलम्ची नगरपालिका वडा नं। ७ को सहयोगमा सञ्चालित जिल्लाभित्रका वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि बनकाली युवा समाज जुगलले जितेको छ। मेलम्ची–७ स्थित दुवाचौर मैदानमा सम्पन्न फाइनलमा मेलम्ची–२ लाई पराजित गर्दै बनकालीले उपाधि हात पारेको हो।

त्यस्तै, मेलम्ची–७ कै सिर्जनशील युवा क्लब छापले सेल्लेलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः ६० हजार, ३० हजार र २० हजार रुपैयाँ नगदसहित शिल्ड तथा मेडल प्राप्त गरेका छन्।

विजेता टोलीलाई मेलम्ची–७ का वडा अध्यक्ष पासाङ तामाङ, पूर्व गाविस अध्यक्ष अर्जुन गिरी र उपाध्यक्ष ग्याल्जेन दोङले पुरस्कार वितरण गर्नुभएको आयोजक क्लबका अध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो। उहाँले मेलम्ची–७ खेलकुद विकासका लागि सधैँ तत्पर रहेको बताउँदै आगामी दिनमा अझ बृहत् प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैगरी, नेपाल राष्ट्रिय शिक्षक संगठन मेलम्चीको आयोजनामा सम्पन्न शिक्षक भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–८ ले जितेको छ। फाइनलमा मेलम्ची नगरपालिका वडा नं। ७ लाई सोझो सेटमा पराजित गर्दै मेलम्ची–८ प्रथम भएको हो। मेलम्ची–३ लाई पराजित गर्दै मेलम्ची–२ ले तेस्रो स्थान हासिल गरेको छ। प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो।

प्रतियोगितामा प्रथम हुने टोलीले २५ हजार, द्वितीयले २० हजार, तृतीयले १५ हजार र चौथो हुने टोलीले १० हजार रुपैयाँ नगदसहित मेडल तथा शिल्ड प्राप्त गरेका छन्। विजेता टोलीलाई मेलम्ची नगरपालिकाका पूर्वप्रमुख डम्बर अर्याल र जिल्ला समन्वय समितिका पूर्वप्रमुख कृष्णगोपाल तामाङलगायतले पुरस्कार वितरण गर्नुभएको थियो।

यता, जिल्ला स्तरीय तेस्रो मेलम्ची मेयरकप ब्याडमिन्टन प्रतियोगितामा करातेका गुरु र चेलाको जोडीले पनि उत्कृष्ट सफलता हासिल गरेको छ। करातेका गुरु राजनमान श्रेष्ठ र उहाँका पूर्वचेला, बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री कृष्णकुमार तामाङ ९समीर० को जोडीले मेलम्ची नगरतर्फको प्रतिस्पर्धामा प्रथम स्थान हासिल गरेको हो।

करिब २० वर्षअघि श्रेष्ठसँग कराते प्रशिक्षण लिएर ब्ल्याक बेल्ट प्राप्त गर्नुभएका तामाङले आफ्नै गुरु श्रेष्ठसँग ब्याडमिन्टन कोर्टमा समेत उत्कृष्ट तालमेल देखाउँदै उपाधि जित्नुभएको हो। फाइनलमा श्रेष्ठ र तामाङको जोडीले शैलेष खड्का र नेत्र तामाङको जोडीलाई पराजित गरेको थियो।

त्यसैगरी, प्रतियोगिताको भेट्रान्सतर्फ राजनमान श्रेष्ठ र नारायणलाल श्रेष्ठको जोडीले प्रथम स्थान हासिल गरेको छ। यससँगै श्रेष्ठले दुई फरक जोडीबाट प्रतिस्पर्धा गर्दै दोहोरो स्वर्ण पदक जित्न सफल हुनुभएको छ।

आफ्ना दुवै जोडीको साथ, सहयोग र उत्कृष्ट खेल प्रदर्शनप्रति आभार व्यक्त गर्दै श्रेष्ठले सफलताको श्रेय सहयात्री खेलाडीहरूलाई दिनुभएको छ।

मेलम्चीमा तिहारको अवसरमा सम्पन्न यी तीनवटै प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान र खेलकुदप्रतिको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्‍याएका छन्। विशेषगरी करातेबाट सुरु भएको गुरु–चेलाको सम्बन्ध ब्याडमिन्टनमा समेत उपाधि जित्न सफल हुनुले खेलकुदमा मित्रता, सहकार्य र निरन्तर साधनाको प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

Leave a Reply