नवलपुर, सिन्धुपाल्चोक
ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ मा स्थानीय अनुकूलन कार्ययोजना (LAPA) तर्जुमाका लागि वडास्तरीय वातावरणीय तथा जलवायुजन्य जोखिम र संकटासन्नता विश्लेषण कार्यशाला सम्पन्न भएको छ।
ईन्द्रावती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष क्षेत्रबहादुर तामाङको सभाध्यक्षतामा उक्त कार्यशाला सञ्चालन भएको हो। कार्यक्रममा सामुदायिक विपद् तथा वातावरण संरक्षण मञ्च नेपाल (CDECF) का कोषाध्यक्ष लक्ष्मीदेवी कोइराला तथा कार्यकारी निर्देशक गोविन्द सापकोटाको उपस्थिति रहेको थियो।
कार्यशालाको सहजीकरण जलवायु इन्जिनियर मिनेश गुरुङले गर्नुभएको थियो। सहजकर्ता गुरुङले स्थानीय स्तरमा बढ्दै गएको जलवायु परिवर्तनको असर, वातावरणीय जोखिमका कारकहरू र तिनले समुदायमा पारेको संकटासन्नताका विषयमा प्राविधिक विश्लेषण प्रस्तुत गर्नुभएको थियो।
सहभागीहरूले वडाभित्र रहेका मुख्य–मुख्य जलवायुजन्य जोखिमहरू (जस्तै: पहिरो, खडेरी, जलस्रोत सुक्दै जानु आदि) को पहिचान गर्दै भावी जोखिम न्यूनीकरणका उपायहरूबारे छलफल गरेका थिए।
वडाध्यक्ष क्षेत्रबहादुर तामाङले जलवायु परिवर्तनको असरले सर्वसाधारणको जीवनयापनमा परेको प्रभावलाई ध्यानमा राख्दै स्थानीय अनुकूलन कार्ययोजना निर्माणमा यो कार्यशाला कोशेढुङ्गा साबित हुने बताउनुभयो। वडाको वास्तविक अवस्था र आवश्यकताका आधारमा बन्ने कार्ययोजनाले भावी दिनमा विपद् न्यूनीकरण र वातावरण संरक्षणमा ठूलो सहयोग पुर्याउने उहाँले बताउनुभयाे। भाेलिकाे दिनमा स्थानियले यस्ता सिकाईलाई आत्मसात गरेर लैजानुपर्नेमा उहाँले जाेड दिनुभयाे ।
कार्यशालामा वडाभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, विद्यार्थीहरू, स्थानीय संघ-संस्थाका प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।
सहभागीहरूले समूहगत छलफलमार्फत आफ्ना अनुभव र सुझावहरू प्रस्तुत गर्दै प्रभावकारी स्थानीय अनुकूलन कार्ययोजना तर्जुमा गर्न सक्रिय योगदान पुर्याएका थिए।
ईसिमाेडकाे सहयाेग र सामुदायिक विकास तथा वातावरण शंरक्षण मञ्चकाे आयाेजनामा साे कार्यशाला सम्पन्न भएकाे हाे ।





