ईन्द्रावती गाउँपालिका वडा नं १२ का दुईवटा विद्यालयमा शैक्षिक अभियान्ता मोहन गिरीले न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गर्नुभएको छ। आज एक कार्यक्रमका बीच गिरीले शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गर्नुभएको हो।
ईन्द्रावती गाउँपालिका वडा नम्बर १२ मा रहेको ढाेटार आधारभूत विद्यालय र इन्द्रावती आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरिएको हो। दुईवटा विद्यालयका कुल शिक्षक र विद्यार्थी गरी २३० जनालाई न्यानो कपडा वितरण गरिएको हो। दुईवटा विद्यालयका विद्यार्थी तथा शिक्षकलाई एकै ठाउँमा भेला गरी वाटर डिस्पेन्सर पनि वितरण गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा इन्द्रावती गाउँपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सुरेन्द्रबहादुर दनुवारले आफूले जितेर आएपश्चात शिक्षामा आमूल परिवर्तन भइहालोस् भन्ने अपेक्षा रहेको भएपिन नतिजा आशालाग्दाे नआउँदा निराश भएको बताउनुभएको छ। समाजसेवी गिरीले गरेको शैक्षिक अभियानले इन्द्रावतीमा शिक्षा क्षेत्रमा ठूलो योगदान पुग्ने उहाँले बताउनुभएको छ। वडाध्यक्ष दनुवारले वडाको शैक्षिक गुणस्तर सुधारको लागि वडा तथा पालिका तहबाट आफूले सक्दो काम गरिरहेको पनि जानकारी दिनुभयो।
कार्यक्रमका विशेष अतिथि इन्द्रावती गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष श्यामबहादुर गिरीले २०८३ सालसम्म इन्द्रावती गाउँपालिकामा रहेका सबै विद्यालयहरूमा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । हालसम्म २३ वटा विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकिएको पनि उहाँले जानकारी दिनुभयो। शैक्षिक क्षेत्रमा सुधारको लागि पोशाकले पनि ठूलो भूमिका खेल्ने गिरीले बताउनुभएको छ। हाल सम्म ईन्द्रावतीका ४८०० भन्दा माथि विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण गरिसकिएको छ । साथै ५३ जना बिद्यार्थीलाई प्राबिधिक शिक्षा अध्ययन गर्नको लागी ५० हजारको दरले छात्रबृत्ति समेत अभियन्ता गिरिले उपलब्ध गराउनुभएको छ । ईन्द्रावती ११ का एक बिद्यार्थीलाई समेत ईन्जिनियर अध्ययनको लागी गिरिले सहयोग गर्नुभएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै ढोटार आधारभूत विद्यालयका प्रधानाध्यापक माधव न्यौपानेले मनको धनी मोहन गिरीले विद्यालयलाई गरेको सहयोगले शिक्षण सिकाईमा सहयोग पुग्ने बताउनुभएको छ। त्यस्तै विद्यालयमा शिक्षण सिकाइका लागि पर्याप्त कक्षा कोठा नभएकोले थप दुईवटा कक्षाकोठा निर्माणका लागि पहल गरिदिन कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष लाई उहाँले अनुरोध गर्नुभएको छ। साथै विद्यालयमा शिक्षण सिकाइलाई सहज बनाउन एकवटा ल्यापटप र फोटोकपी मेसिन आवश्यकता रहेकोले सहयोगको लागि उहाँले अपिल समेत गर्नुभएको छ।
कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै इन्द्रावती आधारभूत विद्यालयका प्रधानाध्यापक माधवप्रसाद नेपालले बालबालिकाहरू कामदै विद्यालय आउनुपर्ने स्थितिलाई मध्यनजर गर्दै विद्यालयमा न्यानो कपडा वितरण हुनु खुसीको कुरा भएको बताउनुभएको छ। इन्द्रावती गाउँपालिकामा रहेका कुनै पनि विद्यालयलाई विभेद नगरिकन सबै विद्यालयले यो सहयोग पाउनु गर्वको कुरा भएको बताउनुभएको छ। बालुवा चालेर जीवन धान्ने माझी तथा दनुवार समुदायका बालबालिकाहरूलाई गरेको सहयोग ले विद्यालयको पठनपाठनमा थप सहयोग पुग्ने उहाँले बताउनुभयो ।
दुईवटा विद्यालयमध्ये कार्यक्रम भने ढोटार आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तारा माझीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधि, पुर्व जनप्रतिनिधि, समाजसेवी, शिक्षक, अभिभावक, विद्यार्थी लगायतकाे उपस्थिति रहेकाे थियाे ।