सुनिता फाउन्डेसनद्धारा सरोकारवालाहरुसँगको समिक्षात्मक अन्तरक्रिया कार्यक्रम मेलम्चीमा सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन मेलम्ची ।

मानव बेचबिखन बिरुद्द काम गर्दै आएको सुनिता फाउन्डेसनले मेलम्चीमा जिल्ला स्तरीय सरोकारवालाहरुसँग समिक्षात्मक अन्तरक्रिया कार्यक्रम गरेको हो । फाउन्डेसनको आयोजना तथा ECPAT LUXEMBOURG (इक्प्याट लक्जम्बर्ग) को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । मेलम्ची नगरपालिकाका उप–मेयर उमा प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र, प्रशासकिय अधिकृत झपेन्द्रराज खरेल, इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी नायव निरिक्षक यति राज भट्टराई, नगरपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख राजेन्द्र दुलाल, संस्थाका प्रबन्ध निर्देशक सुनिता दनुवार, अध्यक्ष तारा देवी खनाल, मेलम्ची नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरु, पत्रकार, प्रभावित लगायतको उपस्थितिमा सँस्थाले एक वर्षमा गरेका कामहरु तथा पछिल्लो समय जिल्लामा मानव बेचबिखनको अवस्थाको बारेमा अन्तरक्रिया गरेको हो ।

कार्यक्रमको अवसरमा प्रमुख अतिथि प्रधानले अहिले स्वरुप परिवर्तन गरेर मानव बेचबिखन भइरहेको बताउनुभयो । पहिला चेलीबेटी बेचबिखनलाई मात्रै मानव बेचबिखन भन्ने बुझाइ रहेकोमा अहिले महिला मात्रै नभई विभिन्न बहानामा पुरुष तथा बालबालिका पनि बेचिने गरेको र त्यसमा वैदेशिक रोजगारीको बाहनामा धेरै पिडित हुने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । साथै जिलामा पहिलाको तुलनामा बेचबिखनको घटना कम हुने गरेको तर अन्त्य भने हुन नसकेको उहाँको भनाई थियो ।

कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष तारा देवी खनालले स्थानीय तह सँग मिलेर काम गर्न पाएकोमा खुशी लागेको बताउँदै भबिष्यमा पनि सँगै मिलेर काम गर्ने बताउनुभयो । साथै अन्तरक्रियामा सहभागी सबै सरोकारवालाहरुप्रती आभार व्यक्त गर्नुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्रले अहिलेका मानिसमा चेतनाको स्तरमा भएक वृद्धि, प्रहरीको सक्रियता साथै विभिन्न संघ संस्थाको सहयोगले गर्दा मानव बेचबिखनमा न्यूनीकरण भए पनि आधुनिकता र प्रबिधिको प्रयोगमा बढोत्तरी भए सँगै सामाजिक सञ्जालको माध्यमबाट प्रलोभनमा पारी मानव बेचबिखन भइरहेकोले सबै सचेत हुन जरुरी रहेकोमा उहाँले जोड दिनुभयो । साथै पीडित तथा प्रभावितहरुलाई नगरपालिकाले तालिम तथा सिपमुलक कार्यक्रममा सहभागीका लागि सहयोग गर्ने बताउँदै जसका लागि सम्बन्धित ब्याक्तीले नगरपालिका सँग सहयोगको लागि अपिल गर्न सुझाव दिनुभयो । त्यस्ता ब्यक्तिहरुले खुल्न नचाहेमा गोप्य रुपमा पनि सहयोगका लागी नगरले समन्वय गर्ने उहाँको भनाई छ ।

संस्थाको उद्देश्यबारे प्रकाश पार्दै संस्थाका प्रबन्ध निर्देशक सुनिता दनुवारले प्रभावितहरु पनि खुलेर आउन प्रयास गरेमा अगाडि बढ्न सहज हुने धारणा राख्नुभयो । सुनिता फाउन्डेसन बेचबिखनमा परेका प्रभाबितहरुले खोलेको सँस्था भएको जानकारी दिँदै प्रबन्ध निर्देशक दनुवारले आफ्नो २७ वर्षे कार्यकालमा देशका बिभिन्न स्थानमा गरेका कामको अनुभव सुनाउनुभएको थियो ।

अहिले संस्थाले हाम्रो समृद्धि परियोजना अन्तर्गत काम गरिरहेको बताउँछदै परियोजनाको काम र उद्देश्यको बारेमा परियोजना अधिकृत अनामिका खतिवडाले प्रस्तुतीकरण दिनुभएको थियो । सिन्धुपाल्चोकको मेलम्ची, काठमाडौंको गोकर्णेश्वर नगरपालिका, नुवाकोटको दुप्चेश्वर गाउँपालिका र मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा सञ्चालित उक्त परियोजनाले प्रभावितहरुलाई जिबिकोपार्जन सम्बन्धि काम समेत गर्दै आएको प्रस्तुतीकरणका क्रममा अधिकृत खतिवडाले जानकारी दिनुभयो ।

मेलम्चीमा बिगत १ वर्षमा मानव बेचबिखन सम्बन्धि घटनाका कुनै पनि मुद्दा दर्ता नभएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी नायव निरीक्षक यति राज भट्टराईले जानकारी दिनुभयो । साथै पुरानो केशहरु बाँकी रहेको उहाँले बताउनुभयो ।

स्वागत मन्तब्य राख्दै सँस्थाका जिल्ला अधिकृत संगिता नेपालीले सँस्थाको काममा सहयोग गर्नेहरु सबैमा आभार ब्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले महिलालाई बम्बईको कोठीमा लगेर बेच्नु मात्रै मानव बेचबिखन भन्ने अधिकांशको बुझाई रहेको वास्तबिकता यो भन्दा निकै फरक रहेका धारणा राखेका थिए । अहिले बिभिन्न बहानामा महिला, पुरुष र बालबालिकाहरु बिभिन्न स्थानमा बेचिने गरेको उनिहरुले बताएका थिए ।

Leave a Reply