रेडियो मिसन ।
चौतारा अस्पतालले आँखा उपचार शाखा र मानसिक स्वास्थ्य तथा नसर्ने रोग परामर्श सेवाको सुरुवात गरिएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय चौतारा अस्पताल सिन्धुपाल्चोकको आयोजनामा आज एक कार्यक्रमका बिच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले शाखा र कक्षको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका मन्त्री थापाले बागमती प्रदेश सरकारले प्रदेशभित्र रहेका प्रादेशिक अस्पतालहरूको स्तरोन्नति तथा सेवा विस्तारको लागि काम गरिरहेको बताउनुभयो । गुणस्तरीय सेवा र नागरिकको स्वास्थ्यसँग जोडिएका विषयमा बढी सजग र सचेत रहेको उहाँको भनाइ छ । जिल्लामा रहेका स्थानीय तहहरूसँग जिल्ला अस्पतालको सेवा प्रवाह कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल गरी अघि बढ्न जरुरी रहेको उहाँको धारणा थियो । साथै जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालसँग जोडेर अगाडि बढाउन सकेको खण्डमा विशेषज्ञ सेवालाई विस्तार गर्न सजिलो हुने उहाँले बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले चौतारा अस्पताल आफ्नो सेवा क्षेत्रभित्र उत्कृष्ट अस्पतालको रूपमा निरन्तरता दिँदै अघि बढ्न सकोस् भन्ने शुभकामना सहितै यस अस्पताललाई गुणस्तरीय सेवा दिने अस्पतालको रूपमा कसरी विकास गरेर अघि लैजान सकिन्छ भन्ने सामूहिक प्रयत्नका माध्यमबाट सोच्न जरुरी रहेको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा राजनीति गर्न बन्द गर्दै राजनिती भन्दा माथि उठेर काम गर्न जरुरी रहेको उहाँको भनाइ थियो ।
चौतारामा ५० शैयाका अस्पताल निर्माण हुनुको मुख्य कारण संघीयता भएको उहाँको भनाइ थियो । अझै यस अस्पताललाई सय सैयाको बनाउन आवश्यक रहेको बताउँदै यसका लागी विभिन्न मापदण्डहरू पुग्नपर्ने भएकोले ती मापदण्डहरूमा काम भइरहेको पनि उहाँले बताउनुभयो । अहिलेको यो भवन बनेपश्चात पहिला रिफर सेन्टरको रूपमा रहेको यस अस्पतालमा तीव्र ढङ्गले तथा गुणात्मक ढङ्गले सेवा विस्तार भइरहेको उहाँले दाबी गर्नुभयो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले अस्पतालमा अहिले ब्लड बैंकको आवश्यकता रहेको र त्यसका लागि नगरपालिकाले जिम्मेवारी लिने र कर्मचारीको व्यवस्था गरिने प्रतिबद्धता जनाउनुभयो । नगरपालिकाले नीति कार्यक्रममा समेत बजेट व्यवस्थापन गरेको र स्वास्थ्य क्षेत्रमा काम गर्न तयार रहेको बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख सीता थापाले हालै उद्घाटन गरिएको शाखा तथा केन्द्रबाट नागरिकले चाहे जस्तो सेवा र सुविधा दिन सकोस् भन्दै शुभकामना दिनुभयो । अस्पतालले सेवाग्राहीहरूलाई नागरिकले चाहेको जस्तो सेवा दिनको लागि त्यही अनुसारको स्रोत र साधन हुन पनि जरुरी रहेको उहाँको भनाइ थियो । त्यसको लागि बागमती प्रदेश सरकारले स्वास्थ्य सामग्रीहरु र स्रोत साधनहरूको व्यवस्था गर्नुपर्ने बताउनुभयो । अहिले भइरहेको सेवा सुविधाहरुलाई अझ थप गर्दै गुणस्तरीय बनाउनका लागि समन्वय गर्नेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगर, पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश सभा सदस्यहरु माइली तामाङ र अमृता नेपाल चौतारा साँगनचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, उपप्रमुख सीता थापा, इन्द्रावती गाउँपालिकाका अध्यक्ष झक्कनाथ नेपाल, प्रमुख जिल्ला अधिकारी किरण थापा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
यसै अवसरमा अस्पतालका उत्कृष्ठ र्काचारी र भर्खरै निर्वाचित जिल्ला पत्रकार महासंघका पदाधिकारीहरुलाई सम्मान पनि गरिएको थियो ।