चौतारा साँगाचोकगढी नगरपालिका वडा न ३ मा कालिजको सिकार गर्न गएका एक युवकको मृत्यु भएको छ । स्थानीय १८ वर्षीय फूलकाजी तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
शनिवार (हिजो) बेलुकी आठ बजे कालिज सिकार गर्न मृतक तामाङ र उनको १५ वर्षीय भाइ भाइ राजा तामाङ स्थानीय जङ्गलमा गएका थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बारुद र हलोको फाली लगायत घरेलु सामाग्रीद्वारा आफैले तयार गरेको स्थानीय बरुवा बन्दुक बोकेर उनीहरू कालिज सिकार गर्न गएका थिए ।
कालिजलाई गोली हान्ने क्रममा ब्याक फायर भएर तामाङको मृत्यु भएको प्रहरी नायव निरीक्षक निरञ्जन भट्टराई ले जानकारी दिनुभयो । डिएसपी भट्टराई का अनुसार सिकार गर्न सँगै गएका मृतक तामाङका भाइ भाइ राजा भने सकुशल रहनुभएको छ भने मृतक तामाङको जिल्ला अस्पताल चौतारामा पोस्टमार्टम गरिएको प्रहरीले जानकारी दिएको छ ।