रेडियाे मिसन ।
इन्द्रावती गाउँपालिका वडा नं ५ मा रहेको अभयानन्द शिक्षा क्याम्पसको बाह्रौं स्थापना दिवस एवं एघारौँ वार्षिक क्याम्पस सभा सम्पन्न भएको छ। आज एक कार्यक्रमका बीच क्याम्पसले आफ्नो स्थापना दिवस तथा क्याम्पस सभा सम्पन्न गरेको हो ।

क्याम्पस सभालाई सम्बोधन गर्दै इन्द्रावती गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि झम्कनाथ नेपालले शैक्षिक संस्था खाेल्ने भन्दा पनि आर्थिक, भाैतिक र गुणस्तरीय शिक्षा दिनु आजकाे आवश्यकता रहेकाे बताउनुभयाे । पालिकामा ४३ सामुदायिक विद्यालय रहेकाेमा मर्ज गरेर ३८ वटा बनाएकाे उहाँले जानकारी दिनुभयाे । पालिकामा रहेका २ वटा क्याम्पस मर्ज गरेर जाँदा पनि विद्यार्थी संख्या कम हुने भएकाले मर्ज गरेर लैजानुपर्ने उहाँको धारणा थियाे । सरकारी सेवामा रहेकाहरूले सामुदायिक विद्यालयमा आफ्नो बालबालिकालाई पठाउन प्रेरीत गर्नुपर्ने अध्यक्ष नेपालले बताउनुभयाे । शैक्षिक गुणस्तर सुधारका पालिकाले काम गरिरहेकाे उहाँले बताउनुभयाे ।

यस्तै कार्यक्रममा बोल्दै इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्षशशिनाथ आचार्यले सबैकाे साथ र मेहेनतले आज यहाँसम्म आउन सफल भएकाे बताउनुभयो । गाउँमा सुविधा हुँदा मानिसहरू भरिभराउ हुने गरेको तर अहिले सुविधा नहुँदा गाउँ खाली हुँदै गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभएको थियो। यस्तो हुनु गम्भीर विषय रहेकोले यसमाथि छलफल गरी सुझाव संकलन गरेर गाउँमै बस्ने वातावरण निर्माण गर्नका लागि गाउँपालिकाको टिमले काम गर्ने पनि उहाँले जानकारी दिनुभयो । शैक्षिक संस्थाहरू हाेडवाजिले खाेलिएका भएपनि हाल सञ्चालनमा कठिनाई भईरहेकाे उहाँको भनाइ थियो । विद्यार्थी संख्या हेरी पालिकामा रहेका दुईवटा क्याम्पसलाई मर्ज गरेर जाने कुरामा छलफल गर्नुपर्ने बेला भएकाे वडा अध्यक्ष आचार्यले बताउनुभयो।

क्याम्पस सभाको अवसरमा इन्द्रावती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष क्षेत्रबहादुर तामाङले गाउँमानै उच्च शिक्षा हासिल गर्ने अवसर पाउनु खुसीको कुरा भएको बताउनुभएको छ। यो अवसरलाई सदुपयोग गरी गाउँमै बसेर पढ्ने वातावरणको सदुपयोग गर्न उहाँले अनुरोध समेत गर्नुभएको छ। यस्तै आफ्ना भाइबहिनी र छोराछोरीलाई गाउँमै बसेर उच्च शिक्षा अध्ययन गर्ने वातावरण निर्माण गर्न अभिभावकहरु पनि लाग्नुपर्ने बेला आएको उहाँले बताउनु भएको छ ।
क्याम्पस सभाको अवसरमा विभिन्न व्यक्ति व्यक्तित्वहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो। पूर्व विद्यार्थी समाजका अध्यक्ष गोपीकृष्ण न्यौपाने, पाँचपाेखरी बहुमुखि क्याम्पसका प्रमुख डाक्टर नवराज न्यौपाने, नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाका सभापति जीवन कुमार थापा मगर, राजनीतिक विश्लेषक सुदर्शन आचार्य, कान्तिपुर क्याम्पसका प्रमुख शैलेन्द्र कुइकेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
अभयानन्द शिक्षा क्याम्पसको बार्षिक प्रगति प्रतिवेदन सञ्चालन समिति अध्यक्ष भवनाथ आचार्य ले प्रस्तुत गर्नुभएको थियो भने क्याम्पसको प्रतिवेदन क्याम्पस प्रमुख कविराज पाैड्याल ले प्रस्तुत गर्नुभएको थियो।
क्याम्पसका पूर्व सञ्चालक समितिका अध्यक्ष तथा व्यवसायी सम्भुविक्रम थापाले क्याम्पस सञ्चालनको लागि नगद रु. ५५ हजारको चेक क्याम्पस प्रमुख कविराज पौडेललाई हस्तान्तरण गर्नुभएको थियो। थापाले यस अघि पनि विभिन्न समयमा क्याम्पसलाई आर्थिक भौतिक सहयोग गर्दै आउनुभएको छ ।
क्याम्पस सभाको समापन गर्दै सञ्चालन समितिका अध्यक्ष भवनाथ आचार्यले क्याम्पस सञ्चालन समिति विशुद्ध रुपमा स्वस्थ रहेको बताउनुभएको छ। हालसम्म क्याम्पसका निर्णयहरू सर्वसम्मत रुपमा भइरहेको उहाँले जानकारी दिनुभएको छ।

इन्द्रावती गाउँपालिकामा रहेका दुईवटा क्याम्पसलाई मर्ज गर्ने विषयमा नीतिगत जटिलता रहेको उहाँले जानकारी दिनुभएको छ। सम्बन्धन फरक फरक विषयमा लिएको हुनाले दुईवटा क्याम्पसलाई मर्ज गर्न समस्या हुने उहाँले बताउनुभएको हो। स्थानिय सरकारकाे तर्फबाट सहयाेग पाईरहेकाे उहाँले बताउनुभएको छ।








