बचतकर्ताको रकम हिनामिना गरि फरार रहेका यु.एम.बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक लगायत ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बनेपा नगरपालिका १ का ३० वर्षीय सहकारीका केन्द्रिय प्रवन्धक रहेका रुषन श्रेष्ठ, सिन्धुपाल्चोक बलेफी १ का ६२ वर्षका संचालक समितिका सदस्य राजन श्रेष्ठ र चौतारा साँगाचोकगढी ५ का चौतारा शाखा प्रवन्धक ३१ वर्षका रामकृष्ण कार्की रहेका छन् ।
बचत रकम अपचलन तथा हिनामिना गरि फरार भएपछि ८८ जना बचतकर्ताहरुले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । जाहेरी अनुसार उनीहरुले बचत कर्ताका ७ करोड ८९ लाख १९ हजार ९ सय ७७ रुपैया हिनामिना गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईका अनुसार पक्राउ पश्चात जिल्ला अदालतबाट म्याद थप भई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं.१० मा केन्द्रिय कार्यालय रहेको यु.एम.बचत तथा ऋण सहकारी संस्था लिमिटेले सिन्धुपाल्चोक जिल्ला भित्रका विभिन्न शाखा कार्यालयहरु मार्फत निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाएका थिए । निक्षेपकर्ताको रकम सहकारी मुद्दती निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक÷त्रैमासिक÷वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पुर्ण सावा ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचत कर्ताहरुले रकम जम्मा गरेका थिए ।
पटक –पटक ताकेता गर्दा पनि बचत रकम फिर्ता नदिएकोले आफ्नो निक्षेप जोखिममा रहेको भन्दै बचतकर्ता प्रहरीसम्म पुगेका थिए । कर्मचारी तथा संचालक समितिका पदाधिकारीहरुलाई लामो समय देखि ध्यानाकर्षण गराउँदा समेत नियम अनुसार पाउनु पर्ने निक्षेप र सो को ब्याज रकम नपाएको पीडितको गुनासो छ । निक्षेप र ब्याज रकम दिनुको साटो संस्था नै बन्द गरि फरार रहेपछि प्रहरीले उनिहरुको खोजी सुरु गरेको थियो ।