रेडियो मिसन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा गणतन्त्र पछि पुर्वाधार, स्वास्थ्य शिक्षा लगायतका सार्वजनिक क्षेत्रमा थुप्रै परिवर्तन र स्वास्थ्य सूचकाङ्कहरूमा उल्लेख्य सुधार आइसकेको बताउनुभएको छ । बुधबार सिन्धुपाल्चोकको ‘चौतारा अस्पताल’को चीन सरकारको सहयोगमा नवनिर्मित अत्याधुनिक भवन उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । उहाँले देशका नागरिक स्वस्थ हुनु भनेको अर्थतन्त्र र समाज स्वस्थ हुनु हो भन्दै स्वस्थ नागरिकबाटै समृद्धिको सपना साकार हुने विश्वास व्यक्त गर्नुभयो । शारीरिक तथा मानसिकरूपमा सबल, सक्षम र स्वस्थ नागरिकहरूको प्रयत्नबाट मात्रै कतिपय देशहरूले हरेक क्षेत्रमा फड्को मार्न सफल भएको उहाँको भनाई छ ।

२०७२ सालको महाभूकम्पले धरासायी बनाएको चौतारा अस्पतालको पुनःनिर्माण प्रक्रिया अघि बढाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ भवन निर्माण भएसँगै खुलाचौरमा र टेण्टभित्र स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता अन्त्य भइ अस्पतालको सेवा प्रवाहमा सहज हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाले नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म ल्याइपुर्याउने किसिमले सङ्घीय सरकारले रणनीतिक महत्वका कार्यक्रम अघि सारेको जानकारी दिनुभयो ।
जिल्ला अस्पताल चौताराको पुनर्निर्माणका लागि चीन सरकारले ६ करोड १० लाख आरएमबी रकम अनुदान सहयोग गरेको हो ।
अस्पताल भवन निर्माणका लागि सन २०१८ अगस्ट १५ मा चीनको अर्थ मन्त्रालयअन्तर्गत एजेन्सी फर इन्टरनेशनल इकोनोमिक को(अपरेशन र नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबीच काठमाण्डौंमा सम्झौता भएको थियो ।
५० शैया रहेको सुविधा सम्पन्न अत्याधुनिक अस्पताल निर्माणसँगै मेडिकल उपकरण, फर्निचर र अस्पतालका लागि आवश्यक सर्जिकल सामग्री समेत चीन सरकारले नै उपलब्ध गराएको अस्पतालका सुपरिटेन्डेन्ट डा। रुद्रमणि भण्डारीले बताउनुभयो ।
कार्यक्रममा पूर्व सभामुख अग्निप्रसाद सापकोटा, पुर्व स्वास्थ्य मन्त्री एवंम सांसद मोहन बहादुर बस्नेत, सांसद माधव सापकोटा नेपालका लागि चिनियाँ राजदूत छन सोङ, बागमती प्रदेशका मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि, स्थानीय नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।