मेलम्चीमा पुल बनाउन शेर बहादुर तामाङले रोक्यो भन्ने कुराप्रति आपत्ति छ : पूर्व मन्त्री तामाङ

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची l
सांसद मोहन बहादुर बस्नेतले पुल बनाउन शेर बहादुर तामाङले रोक्यो भन्ने कुराप्रति आपत्ति जनाउनुभएको छ । नेकपा एमाले स्थाई कमिटी सदस्य एवम् पूर्व मन्त्री शेर बहादुर तामाङले नेकपा एमाले क्षेत्र नम्बर २ को वृहत क्षेत्रीय भेला तथा वनभोज कार्यक्रममा आफ्नो भनाई राख्दै मेलम्चीमा पक्की पुल नै बन्नुपर्ने र बेलिब्रिज हालेर झारा तिर्न नपाइने बताउनुभयो । 

माघ १८ गतेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद बस्नेतले मेलम्ची नदीमा बनाउन लागिएका पुलहरूको टेन्डर निकाल्न एमालेका नेताहरूले नदिएको बताउनुभएको थियो । उहाँले एमालेका नेताहरूको नाम भने उल्लेख गर्नुभएको थिएन । तर, आफूसँग पराजित भएका नेता भन्नुभएको थियो । अहिले उनै एमालेका नेताले विकास विरोध गतिविधि र हर्कत गरिरहेका छन्, बस्नेतले भन्नुभएको थियो । 

पूर्व मन्त्री समेत रहनुभएका तामाङले नेकपा एमालेको नेतृत्व र अगुवाइमा राष्ट्रपति बनाउने बताउनुभएको छ । उहाँले एमालेले नेतृत्व गरेका बेला मुलुकको परिवर्तनका लागी केही न केही नयाँ काम सुरु गरेको उल्लेख गर्दै एमालेको सरकार आएपछि जनतालाई देशमा परिवर्तन हुन्छ भन्ने विश्वास हुने बताउनुभयो । 

तामाङले एमालेले बनाएका गठबन्धन तोड्नका लागी दिलोज्यान दिएर केही दलहरु लागि परेको दावी गर्नुभयो । उहाँले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का सांसद मोहन बस्नेत तर्फ लक्षित गर्दै दिउसो लाई रात पार्ने झिलिमिली पार्छु भन्नेहरु अहिले कता छन् भन्दै प्रश्न गर्नुभयो । उहाँले बाहुनीपाटी पुल निमार्ण, मध्यपहाडी लोकमार्ग लगायतका विषयमा आफूले गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै सबैकुराको पहल गर्ने नेतृत्व गर्ने कुरामा नेकपा एमाले सँधै लागिरहने बताउनुभयो । तामाङले १ नम्बर क्षेत्रका जनतालाई झुक्याएर २ नम्बर जनताको आँखामा छारो हाल्न आएको भन्दै त्यो प्रवृत्ति यहाँका जनतालाई नपच्ने बताउनुभयो । उहाँले फेरिपनि यो मुलुकको समृद्धिको अगुवाइ एमालेले नै गर्ने बताउनुभयो । 

कार्यक्रममा, नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले दोहोरो भूमिका खेलेको बताउनुभएको छ । चुनावमा कांग्रेससँग सहकार्य गरेको माओवादीले हाताहाती प्रधानमन्त्री दिन नमानेर बालकोट पुगेका प्रचण्डलाई एमालेले प्रधानमन्त्री बनाएको दुई महिना नबित्दै फेरी सहकार्य परिवर्तनको तयारी गरिरहेको पाण्डेले बताउनुभयो । राष्ट्रपतिको निर्वाचनसम्म कुर्ने धैर्यता प्रचण्डमा नभएको उहाँल बताउनुभयो । यस्तै कांग्रेस पनि सत्ता विना बस्न नसक्ने उहाँले बताउनुभएको छ । नेकपा एमालेले सरकारमा रहँदा जनताको लागि हुने कामको मात्रै निर्णय गरेको पाण्डेले बताउनुभयो ।

Leave a Reply