नवलपुर,
इन्द्रावती गाउँपालिका वडा नम्बर ४ स्थीत टाकुरेमा आगलागी भएको छ । इन्द्रावती ४ का रामकृष्ण गजुरेलको घर र कुखुराको टहरामा आगलागी भएको हो ।
आगलागीका कारण अनुमानित २३ लाख २७ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब निरीक्षक कुमार चौलागाइँले जानकारी दिनुभयो । कुखुराको टहरोमा भएको ग्याँस बुडर बाट आगो सल्किएको प्रहरीको अनुमान छ । प्रहरी हाल घटनास्थलको निरीक्षण र अनुसन्धानमा जुटेको छ ।
बिहान अन्दाजी ५ बजे घर सँगै रहेको कुखुराको टहरोबाट आगो लागेको र टहरा सहित घर जलेर नष्ट भएको प्रहरी नायब निरीक्षक चौलागाइँले जानकारी दिनुभयो । आगलागी बाट १ हजार कुखुरा सहितको टहरो जलेर नष्ट भएको छ । त्यस्तै ४ कोठाको घर र घरमा रहेका सामानहरू जलेको उहाँले जानकारी दिनुभयो ।
मेलम्चीबाट आएका सशस्त्र प्रहरीको टाेलि, इलाका प्रहरी कार्यालय नवलपुरको टाेलि र स्थानीयवासीकाे सहयोगमा आगो नियन्त्रणमा लिई बाँकी सामान निकालिएको बताईएको छ ।


