टाकुरे आगलागी पीडितलाई इन्द्रावती गाउँपालिका द्वारा ५० हजार सहयोग हस्तान्तरण

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर । 

इन्द्रावती गाउँपालिका ४ टाकुरेको आगलागी पीडितलाई इन्द्रावती गाउँपालिकाले ५० हजार सहयोग गरेको छ । आज इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपाल, गाउँपालिका उपाध्यक्ष शोभना तामाङ, प्रवक्ता शशिनाथ आचार्य, गाउँपालिकाका इन्जिनियर राजाराम घोरासैनी, लेखा अधिकृत भास्कर पन्त लगायतको उपस्थितिमा पीडित परिवारलाई ५० हजार नगद सहयोग हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण गर्दै स्थानीय सरकारले थोरै भए पनि मलम लगाउनुपर्छ भनेर सहयोग रकम सहित पीडितको घरमा पुगेको गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यले जानकारी दिनुभयो । गाउँमै बसेर केही गरौँ भन्ने मनोभावनाले काम गरिरहेका रामकृष्ण गजुरेल को घरमा भएको घटना प्रति गाउँपालिकाले दुख व्यक्त गरेको उहाँले बताउनुभयो।

राहत सहयोग हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष झम्क नेपालले भन्नुभयो ‘हामीले ल्याएको राहत पर्याप्त त छैन तर गाउँपालिकाले केही सहयोग गरौँ भनेर गरेका छौँ’ । साथै गाउँपालिकामा तत्कालै बिपद व्यवस्थापन समितिको बैठक बस्ने उहाँले बताउनुभयो । नयाँ घर निर्माण गरिदिनका लागि पहल कदम गर्न गाउँपालिका तयार रहेको उहाँले बताउनुभयो । 

बिहान अन्दाजी ५ बजे गजुरेलको घरसङ्गै रहेको कुखुराको टहरोबाट आगो लागेको र टहरा सहित घर जलेर नष्ट भएको थियो । कुखुराको टहरामा भएको ग्याँस बुडर बाट आगो सल्किएको अनुमान प्रहरीको छ । आगलागीका कारण अनुमानित २३ लाख २७ हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव निरीक्षक कुमार चौलागाईँले जानकारी दिनुभयो ।

आगलागी बाट १ हजार कुखुरा सहितको टहरो जलेर नष्ट भएको थियो भने ४ कोठाको घर र घरमा रहेका सामानहरू जलेका छन् । 

Leave a Reply