नेपाल र चीनबीचको स्थलमार्ग तातोपानी नाका फेरि बन्द हुने भएको छ । गत असोज १२ गतेको बाढीले बगाएको लिपिङखोला पुलमा बेलिब्रिज जडान गर्ने तयारी भएसँगै नाका बन्द गर्न लागिएको हो ।
२९ जनवरीमा चिनियाँ नयाँ वर्ष प्रारम्भ हुने भएकाले सोही अवधिमा नाका बन्द गर्ने नेपाल पक्षको तयारी छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले चिनियाँ समकक्षीसँग समन्वय गरेर केही दिनलाई आयात बन्द गर्ने तयारी गरेको र त्यसको आधिकारिक सूचना जिल्ला प्रशासनले जारी गर्ने जानकारी दिनुभयो ।
नेपाल–चीन अधिकारीबिच अनौपचारिक छलफल भएअनुसार माघ ६ गतेदेखि २५ गतेसम्म आयात बन्द गर्ने तयारी गरिएको हो । वैकल्पिक मार्ग नभएकाले निर्माण समयावधिको केही दिन तातोपानी नाका बन्द हुनेछ ।
अहिले ह्युमपाइप बिछ्याएर ढुंगामाटोले भरिएको जोखिमपूर्ण बाटोबाट कन्टेनर आवतजावत भइरहेको छ । सडक डिभिजन कार्यालय चरिकोटका अनुसार लिपिङ खोलामा बेलिब्रिज जडान गर्दा केही दिन सडक बन्द हुने छ ।