रेडियो मिसन, नवलपुर
हेलम्बु गाउँपालिकाले १० वर्ष पुराना गाडीहरूलाई पर्यटक बोक्न नदिने तयारी गरेको छ । बुधबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर गाउँपालिकाले यो निर्णय लिन लागेको हो । पालिकाद्वारा जारी विज्ञप्तिमा १० वर्ष भन्दा पुरानो गाडीबाट पर्यटक बोक्न प्रतिबन्ध लगाउनका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरि सकिएको जानकारी दिइएको छ । आगामी कार्यपालिकाको बैठक बाट साे निर्णय गरीने बताइएकाे छ ।
प्रमुख प्रशासकीय अधिकृत राजुभाइ श्रेष्ठ द्धारा जारी प्रेस विज्ञप्ति :
“वि.सं. २०८० माघ १७ गतेका दिन यस हेलम्बु गाउँपालिकाको वडा नं. १ स्थित बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल मिलारेपाको दर्शन गर्न आएको भुटानी पर्यटकहरू चढेको गाडी बिहान करिब १०ः०० बजे यस गाउँपालिका वडा नं. १ दोरिङ्ग भन्ने स्थानमा दुर्घटना भई २ जना पर्यटकको घटनास्थलमै मृत्यु भएको र ५ जना पर्यटकहरू घाईते भएका छन् । दुर्घटनाको खबर प्राप्त हुने बितीकै गाउँपालिकाबाट तत्कालै स्वास्थ्य सामाग्री सहित स्वास्थ्यकर्मी पठाई एम्बुलेन्स र कार्यालयको गाडीबाट हेलम्बु गा.पा. वडा नं. २ स्थित कीउल बगर स्थित स्वास्थ्य शाखामा ल्याई प्रारम्भिक उपचार गरिएको थियो । तत्पश्चात गाउँपालिकाले फिस्टेल एयरको हेलिकप्टर मार्फत ५ जना घाइतेलाई ३ वटा उडानमा उपचारका लागि काठमाण्डौ पठाइएको थियो । मृतक २ जना भुटानी पर्यटकहरूको शवलाई गाडी मार्फत त्रि.वि.वि. टिचिङ्ग हस्पिटलमा पोस्टमार्टमको लागि प्रहरी सहित पठाइएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण यस गाउँपालिकामा आउने पर्यटकहरूले पुरानो गाडी प्रयोग गरेका कारण दुर्घटना भएकाले गाउँपालिकाले यस गाउँपालिका भित्र १० वर्ष भन्दा पुरानो गाडीबाट पर्यटक बोक्न प्रतिबन्ध लगाउनका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरि सकिएको छ । साथै आगामी कार्यपालिकाको बैठक बाट १० वर्ष पुरानो गाडी लाई पर्यटक बोक्न नदिने निर्णय गर्ने तयारी गरेको छ ।
अन्तमा यस गाउँपालिकामा भएको दुखद दुर्घटना वाट मृत्युवरण गर्न पुगेका भुटानी पर्यटकहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गन्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको समेत कामना गर्दछु । उद्धार कार्यमा खटिनुहुने जनप्रतिनिधिहरू, नेपाल प्रहरी, स्वास्थ्यकर्मी, र गाउँपालिका कर्मचारी तथा समस्त हेलम्बु वासिहरुमा गाउँपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्दछु” । भनिएकाे छ।