मेलम्ची नगरपालिकाद्वारा आयोजित एकिकृत घुम्ती शिविर मेलम्ची ४ थकनी स्थित श्री कृष्ण माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
शिविरबाट वडा नम्बर १, २, ३, ४ र ५ गरी सिन्धुभ्यालीका ४ सय जना नागरिकहरुले लाभ लिएका छन् । शिविरको उद्घाटन गर्दै बागमती प्रदेशसभा सदस्य एवं नेपाली काङ्ग्रेस संसदिय दलका सचिव कृष्ण कुमार तामाङ (समीर)ले नगरपालिकाले जनताले खोलेके सेवा दिएकोमा खुशि लागेको बताउनुभयो । उहाँले स्थानिय सरकार भनेको सबैभन्दा नजिकको सरकार भएकाले यस्ता कार्यक्रमले जनस्तरमा महत्वपुर्ण सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष एवम् मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरपालिकाले सबै वडाका नागरिकहरुलाई सहज पहुँचमा स्वास्थ्यपचार पुर्याउने उद्धेश्यले शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले शिविरमा धेरै किसिमका रोगहरुको चेकजाँच र उपचार हुने भएकाले आफ्नो स्वास्थ्य जचाँउनका लागी आग्रह गर्नुभयो । उहाँले पहिलो चरणमा थकनीमा शिविर गरेतापनी अन्य भेगमा पनि क्रमश हुने जानकारी दिनुभयो । नगर प्रमुख तामाङले भक्तपुर क्यान्सर अस्पताल र मेलम्ची नगरपालिकाको समन्वयमा शिविरबाट फेला परेका अप्रेसन गर्नुपर्ने रोगहरुको समेत निशुल्क उपचार गर्ने भएकाले शिविरमा ढुक्क भएर सेवा लिन आग्रह गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि नगरपालिकाका उपप्रमुख उमा प्रधानले गाउँघरमै आएको यस्ता शिविरले वृद्धवृद्धा,महिला र अशक्तहरुमा समेत फाइदा पुग्ने अपेक्षा लिइएको बताउनुभयो । उहाँले महिलाहरुमा हुने विभिन्न खाले समस्याबारे खुलेर परामर्श लिन आग्रह गर्दै बेलैमा उपचार पाएमा धेरै रोगहरु निको हुनेगरेको बताउनुभयो ।
कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष संजिव तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने मेलम्ची नगर अस्पतालका प्रमुख डाक्टर श्रीराम अर्यालले उद्धेश्यबारे प्रष्ट पार्नुभएको थियो । शिविरको अवसरमा २८ जनालाई जेष्ठ नागरिक परिचयपत्र बितरण र ३ जनाको अपांगता परिचयपत्रका लागि आवेदन संकलन गरिएको नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो । शिविरमा आयुर्वेद सेवा समेत प्रदान गरिएको थियो ।