पाँचपोखरी क्रिकेट क्लब र ह्योल्मो–११ ले पाँचपोखरी जिल्लास्तरीय टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जित हात पारेका छन् । दुवै विजयी टोली समूह विजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।
विजय धितालको उत्कृष्ट प्रदर्शनमा पाँचपोखरीले मूलपानी क्रिकेट मैदानमा मेलम्ची नगरपालिकालाई ३ विकेटले हरायो । पहिलो ब्याटिङ गरेको मेलम्ची १७.१ ओभरमा ९६ रनमा अलआउट भयो । ओपनर रिन्जिन लामाले २५ र सोनु देवकोटाले २६ रन जोड्नुभएकाे थियाे । प्लेयर अफ द म्याच विजयले ३.१ ओभरमा ९ रन खर्चेर ३ विकेट लिनुभयाे । मनोज खड्काले ३ र सार्थक धितालले २ विकेट लिनुभएकाे थियाे ।
पाँचपोखरीले १९.२ ओभरमा ७ विकेट गुमाई लक्ष्य पूरा गरेको थियो । ओपनर सार्थकले २०, लाक्पा लामाले २४ र विजयले १४ रन जोड्नुभयाे । रिन्जिन लमा र रामकृष्ण दुलालले २–२ विकेट बाँडे । पाँचपोखरी समूह ‘बी’ विजेता तथा मेलम्ची उपविजेता बन्दै सेमिफाइनल पुगेका छन् ।
अर्को खेलमा ह्योल्मो–११ ले भोटेचौर स्पोर्ट्स क्लबमाथि ९ विकेटको जित पायो । नाम्गिल शेर्पाको उत्कृष्ट ब्याटिङमा ह्योल्मोले १ सय २० रनको लक्ष्य १७ ओभरमा पूरा गर्यो । प्लेयर अफ द म्याच नाम्गिलले ५६ बलमा ८ चौका र १ छक्कासहित अविजित ६६ तथा विनोद तामाङले ३८ बलमा ७ चौकासहित ४३ रन बनाउनुभयाे ।
यसअघि भोटेचौरले ९ विकेट गुमाएर १ सय १९ रन जोडेको थियो । ओपनर दुर्गेश थापाले ४२ रन जोड्नुभयाे । ह्योल्मोका फुर्पा शेर्पा, राहुल लामा र दावा सोनाम शेर्पाले २–२ विकेट लिएका थिए । ह्योल्मो–११ समूह विजेता र हिमालयन क्रिकेट क्लब उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेका छन् ।
पाँचपोखरी थाङ्गपाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघ र पाँचपोखरी क्रिकेट क्लबको प्राविधिक सहयोगमा फागुन १२ देखि मूलपानीमा भइरहेको प्रतियोगिताको शुक्रबार हुने सेमिफाइनलमा ह्योल्मो–११ र मेलम्ची नगरपालिका तथा पाँचपोखरी क्रिकेट क्लब र पाँचपोखरी हिमालयन क्रिकेट क्लबबीच हुनेछ ।