दिगो विकासका लागि प्राङगारिक कृषि अभियान भन्ने नाराका साथ आज पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ३ भोताङका किसानलाई प्राङगारिक प्रमाणिकरण चिन्ह तथा प्रमाणपत्र वितरण गरिएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका कृषि विकास शाखाको सहयोगमा सेर्च्यु बरलो साना किसान कृषि सहकारी संस्थाद्वारा सञ्चालित सहभागीतामुलक गुणस्तर निर्धारण प्रणाली (पि.जि.एस) अन्तर्गत प्राङगारिक प्रमाणिकरण चिन्ह तथा प्रमाणपत्र वितरण गरिएको कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिनुभयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष टासी लामाले अर्गानिक प्रमाणीकरणले गाउँपालिकालाई चिनाउन मद्दत पुग्ने बताउनुभयो । उहाँले प्लास्टिक मुक्त पालिका बनाउन समेत यस्ता कार्यक्रमले फाइदा पुग्ने बताउनुभयो । उहाँले वैकल्पिक झोला प्रयोगमा ल्याइसकेको बताउदै प्लास्टिक प्रयोगमा रोक लगाउने जानकारी दिनुभयो ।
लामाले पालिकामा करिब १० प्रतिशत मात्र जग्गा बाँझो रहेको बताउदै अहिले निरन्तर किसानहरु कृषि पेशामा सक्रिय हुँदै गएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले पाँचपोखरी अब आत्मनिर्भरको बाटोमा अगाडी बढेको जानकारी दिदै पालिकामा अब आयात हैन निर्यातलाई जोड दिने बताउनुभयो । अध्यक्ष लामाले अब प्रवेशद्वार खाल्डे सुचना केन्द्रमा कोसेली घर निर्माण गरि उत्पादन गरेका राम्रा चिज हरुलाई त्यहाँ राख्ने बताउनुभयो ।वडा अध्यक्ष ङिमाछिरिङ तामाङले लोकल रुपमा उत्पादन भएको वस्तु अब देशब्यापी बनाउन आवस्यक रहेको बताउनुभयो । उहाँले किसान धनी हुनपर्ने भन्दै निरन्तर काममा लाग्न आग्रह गर्नुभयो । वडा अध्यक्ष तामाङले अन्तर्राष्ट्रिय स्तरमा यहाँको उत्पादन पुर्याउन संभव भएको भन्दै अहिले निरन्तरता दिदै हरियो प्रमाणीकरण गर्ने दिन छिट्टै आउने बताउनुभयो ।
प्रशिक्षक कपिल प्रजापतिले एक बर्ष भित्रमा पाएको यो उपलब्धीले खुशी लागेको बताउनुभयो । उहाँले केहि अफ्ट्यारो भएपनि निरन्तरता दिनुभएकोमा किसानलाई धन्यवाद व्यक्त गर्नुभयो । सधैं सहयोग गर्न तत्पर रहेको बताउनुभयो । कृषकको तर्फबाट आफ्नो भनाइ राख्दै भोताङका किसान सुमेश तामाङ्ले पहिला अर्गानिक के हो र रासायनिक के हो भन्ने नै थाहा नभएपनि अहिले अर्गानिक उत्पादन गर्न सक्ने भएको बताउनुभयो ।
आलु र कोदो ब्यापक उत्पादन भएपनि बजार नभएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले बन्यजन्तुले समेत अहिले दु:ख दिन थालेको भन्दै त्यसको ब्यबस्थापन र कृषि विमाको कार्यक्रम अगाडी बढाउन गाउँपालिकाको ध्यानाकर्षण गराउनुभयो । सेर्च्यु बरलो साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रचना बोम्जनको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीको तर्फबाट कान्छालाल तामाङले आफ्नो भनाइ राख्नुभएको थियो । कार्यक्रमको अवसरमा ४० जना किसानलाई अर्गानिक प्रमाणीकरण प्रमाणपत्र प्रदान गरिनुका साथै सम्मान गरिएको थियो । कार्यक्रमको अवसरमा आर्सो नेपालले उपलब्ध गराएको टनेल किसानलाई वितरण गरिएको थियो । तालिमको प्रशिक्षक प्रजापति,राम्जी ढकाल, वडा कृषि प्राविधिक मनिष श्रेष्ठ,पशु सेवा प्राविधिक रविन ढुंगाना लगायतले सहजीकरण गर्नुभएको थियो ।