मेलम्ची बाढीले प्रतिघरधुरी ७० लाख क्षति पुर्‍याएको तथ्याङ्क सार्वजनिक

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।

मेलम्चीमा गएको बाढी र पहिरोले एक घरधुरी बराबर ७० लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको तथ्याङ्क सार्वजनिक भएको छ । अनुसन्धानमा क्षति भएको व्यक्तिको जमिन, घर, खेतीबाली, उनीहरुले जीविकोपार्जनका लागि लिएको बैंकको ऋणलाई पनि समावेश गरिएको छ ।

मेलम्ची नगरपालिका र हेलम्बु नगरपालिकाले दिएको तथ्याङ्क र पीडितको घरदैलोमै पुगेर गरिएको सर्वेक्षणले प्रतिघरधुरी झण्डै ७० लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको देखाएको अनुसन्धानकर्ता विनोदप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

अध्ययनले समुदायमा मनोसामाजिक समस्या पनि देखाएको छ । प्रभावित भएका ८५ प्रतिशत घरधुरीमा  समस्या देखिएको अनुसन्धानकर्ता पराजुलीले बताउनु भयो । यसअघि मेलम्ची नगरपालिकाले ६५ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको तथ्याङ्क सार्वजनिक गरेको थियो । त्यसैको आधारमा आफूहरुले आर्थिक र गैरआर्थिक दुवै क्षेत्रको क्षतिको विवरण सङ्कलन गरेको अध्ययनकर्ताले बताएका छन् ।

मेलम्चीमा गएको बाढीबाट भएको हानिनोक्सानीबारे पहिलो पटक बृहत् अध्ययन सार्वजनिक भएको हो । जलवायुजन्य क्षतिसँग सम्बन्धित भएर गरिएको अध्ययनले आर्थिक र गैरआर्थिक क्षति तथा नोक्सानीको तथ्याङ्क सङ्कलन गरेको हो ।

सांस्कृतिक र धार्मिक क्षेत्रमा परेको असरबारे पनि अध्ययन गरिएको छ । अध्ययन प्रतिवेदनले क्षति कम गर्नका लागि अन्तर्राष्ट्रिय वित्तको आवश्यकतालाई पनि औँल्याएको छ । 

Leave a Reply