सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले विद्यार्थीसँग अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ । आज हेलम्बु गाउँपालिकाले सञ्चालन गरेको एकीकृत सिकाइ केन्द्रमा गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो ।
आफ्ना विद्यालयसँग सम्बन्धित र शिक्षासँग सम्बन्धी विविध प्रश्न गर्न पाएकोमा विद्यार्थीहरूले खुशी व्यक्त गरेका थिए । हेलम्बु गाउँपालिकाका शिक्षा शाखा प्रमुख धन ध्वज लामाले शिक्षामा सुशासन कसरी कायम गर्न सकिन्छ ?शिक्षामा गरेको लगानी अनुसार प्रतिफल कसरी हासिल गर्न सकिन्छ। भन्ने विषयमा छलफल गर्न विद्यार्थी सँग अध्यक्ष कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले गाउँपालिकाले आगामी वर्ष तयार पार्ने नीति तथा कार्यक्रमहरूमा विद्यार्थीको इच्छा, आवस्यकता, गाउँपालिकाको दायित्व लगायत विषय समेटेर प्रभावकारी कार्यक्रम निर्माण गर्नका लागी यो कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा सिकाइ केन्द्रमा अध्ययन गर्ने विद्यार्थीहरूले शिक्षक अपुग रहेको, विद्यालय नर्स हुनुपर्ने, स्यानिटरी प्याड व्यवस्थापनमा समस्या हुने गरेको, बसको व्यवस्थापन राम्रो सँग हुन नसकेको, क्षमता वृद्धिका लागि विभिन्न प्रतिस्पर्धा मूलक कार्यक्रम आयोजना गर्नुपर्ने लगायतका माग गरेका थिए । त्यस्तै वातावरण संरक्षणमा गाउँपालिकाले बनाएको योजना, लाइब्रेरी पर्याप्त नभएको मौलिकता हराउँदै गएको, बाल बिबाह, बाल श्रम अझैपनि कायम रहेको प्रति विद्यार्थीहरूले चिन्ता व्यक्त गरेका थिए ।
कोचिङ कक्षा हरु सञ्चालन गर्नपर्ने, गाउँपालिकाले निशुल्क शिक्षाको नीति लिएपनि विद्यार्थीहरूले विभिन्न शीर्षकमा शुल्क तिर्न बाध्य भएको, प्राविधिक विषयको पढाइ समेत सञ्चालन गर्नुपर्ने, सैद्धान्तिक सँगै व्यवहारिक शिक्षामा जोड दिनुपर्ने विषय विद्यार्थीहरूले उठान गरेका थिए । विद्यालयमा शौचालयको समस्या अभाव, आर्थिक स्थिति कमजोर भएकाहरूले होस्टलमा बसेर पढ्न नपाएको, बालबालिकाहरूको व्यक्तित्व र क्षमता विकास गर्ने खालको कार्यक्रम नभएको, करेसाबारीको अवधारणा अनुसार काम नभएको, ट्युसन फ्रीे, भ्रमण खर्च विद्यार्थी आफैँले उठाउन परेको लगायतको साझा समस्या विद्यार्थीहरूले उठान गरेका थिए ।
निजी विद्यालयमा पनि गाउँपालिकाले दिवा खाजाको ब्यवस्था गर्नुपर्ने, अतिरिक्त क्रियाकलापमा पालिकाले विशेष चासो दिनुपर्ने विषयमा पालिका अध्यक्ष शेर्पाको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा एकीकृत सिकाइ केन्द्रका प्रमुख राजन लामिछानेले विद्यार्थीहरूले उठाएका जिज्ञासा तथा प्रश्नको जवाफ दिनुभयो । उहाँले विज्ञान विषय अध्ययन गर्ने कुरामा सुरुमै गाउँपालिका, विद्यार्थी र सिकाइ केन्द्रले गरेको समझदारी अनुसार काम गरेको प्रष्ट पार्नुभयो । उहाँले अतिरिक्त कक्षा सञ्चालनको लागी सिकाइ केन्द्र सकारात्मक रहेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित प्रधानाध्यापकहरूले विद्यार्थीले उठाएका प्रश्नको जवाफ र आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख धन ध्वज लामाले विद्यार्थीहरूलाई बस व्यवस्थापन गर्न पालिका लागिरहेको आश्वासन दिनुभयो । सिकाइ उपलब्धि खर्च भन्दै माध्यमिक विद्यालयलाई ३० हजार, आधारभुत तहलाई २० हजार र पूर्व प्राथमिक तहलाई १० हजार दिनेगरेको उल्लेख गर्दै त्यहीँ अनुसार कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँले त्यो रकम अन्यत्र खर्च गरेमा कारबाही गर्ने उद्घोष गर्नुभयो । सिकाइ केन्द्र लाई १० लाख बिनियोजन गरेको भन्दै आगामी दिनमा विद्यार्थीको मागलाई सम्बोधन गर्नेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
शिक्षा लगायतका क्षेत्रमा हेलम्बु गाउँपालिकाले गरेको कामले हेलम्बु लाई नमुना पालिकाको रुपमा अगाडि बढेको दावी गर्न सकिने आधार रहेको लामाले बताउनुभयो । प्राविधिक शिक्षाको सुरुवात अब गाउँपालिकाले गर्ने भएकाले व्यवहारिक र आय आर्जन मुलुक शिक्षा प्रदानका लागी गाउँपालिका लागी रहेको लामाको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत राजुभाई श्रेष्ठले निजी सहित गाउँपालिकामा रहेको १३ वटा माध्यमिक विद्यालयहरू मध्य स्टाफ नर्स ३ वटामा रहेको र आगामी दिनमा सबै विद्यालयमा हुने गरि संघ र प्रदेश सरकारले नै तयारी गरिरहेको बताउनुभयो । त्यस्तै वातावरण संरक्षणका लागी पालिकाले ऐन नै बनाएकाले सोही अनुसार काम गरिरहेको श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले सडक, ग्रेट ट्रेल लगायतका स्थानका दायाँबायाँ चिया, स्याउ, फलफूल लगायतको बिरुवा रोपेको बताउनुभयो । बाढीले क्षति पुर्याएको विद्यालय संरक्षणका लागी पालिकाले विभिन्न शीर्षक बाट कार्य गरिरहेको जानकारी गराउँदै संघ, प्रदेश र स्थानीय तहको स्रोत साधनले भ्याए सम्म काम गर्ने श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो । शिक्षक अभाव हुन नदिनका लागी सीमित आन्तरिक स्रोत हुँदा पनि गाउँपालिकाले उल्लेख्य काम गरिरहेको उहाँको भनाई छ । आगामी वर्ष नीति तथा कार्यक्रम बनाउँदा शिक्षा क्षेत्रमा गर्न पर्ने कार्यलाई सम्बोधन हुने गरि बनाउने बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिदैँ गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले विद्यालयका गतिविधि थाहा पाउन र शैक्षिक सुधारका लागी आगामी खाका तयार गर्नका लागी यस्तो कार्यक्रम फलदायी हुने विश्वास लिएको बताउनुभयो । उहाँले विद्यार्थीले उठाएका समस्या समाधानका लागी सबैजना आआफ्नो ठाउँबाट लागी पर्न आह्वान गर्नुभयो । अध्यक्ष शेर्पाले आगामी दिनमा यहाँका युवा, विद्यार्थी लाई यहीँ टिकाउनका लागी के गर्न सकिन्छ भनेर यस्तै बहस गर्ने बेला आएको बताउनुभयो । उहाँले ११ र १२ पढिसकेपछि विदेश नै जाने भए किन अहिले गाउँपालिकाले लगानी गर्नुपर्यो भनेर प्रश्न गर्नुभयो । देशकै शैक्षिक स्थिति बेहाल रहेको भन्दै अध्यक्ष शेर्पाले हेलम्बु बाट शैक्षिक उन्नयनको थालनी भएकोमा खुशी मान्नुपर्ने बताउनुभयो । अघिल्लो कार्यकाल सडक र पूर्वाधारमा खर्च भएको उल्लेख गर्दै यो कार्यकालमा शिक्षा र स्वास्थ्यमा लगानी गरिरहेको शेर्पाको भनाई छ ।
धनी र गरिब दुवैले समान शिक्षा पाउनुपर्नेमा अध्यक्ष शेर्पाले जोड दिनुभयो । विदेशमा पनि थुप्रै समस्या भएकाले कम्तीमा ब्याचलर सम्म सबैलाई अध्ययन गर्न उहाँले आह्वान गर्नुभयो । इन्जिनियरिङ विषय अध्ययन अब हेलम्बुमै गराउने गाउँपालिकाको योजना रहेको बताउँदै उहाँले आफ्नै जनशक्ति उत्पादन गर्ने कुरामा गाउँपालिका सकारात्मक रहेको बताउनुभयो । निजी विद्यालय पालिका मातहत ल्याउने कुरामा गाउँपालिकाले छलफल गरिरहेको भन्दै विद्यालय सञ्चालनका लागी लाग्ने आवश्यक खर्च पालिकाले बेहोर्ने गरि कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । अध्यक्ष शेर्पाले सबैले निशुल्क शिक्षा पाउनुपर्छ भनेर पालिकाले जोड दिएको भन्दै यहीँ अनुसार योजनाबद्ध हिसाबले अगाडि बढ्न आह्वान गर्नुभयो । व्यवहारिक र आयआर्जन मूलक शिक्षा प्रदान गर्ने कुरामा पालिकाले पटक पटक छलफल गरेको स्मरण गर्दै विद्यार्थीलाई परिचालन गर्नेगरी उद्योग तथा कारखाना खोल्ने हो भने पनि पालिका सहयोग गर्न तत्पर रहेको उद्घोष गर्नुभयो । शिक्षकको काम पढाउने मात्र नभएर विद्यार्थीको भविष्य निर्माण गर्ने र नैतिक शिक्षाको समेत विकास गर्नेगरी लाग्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रमको सहजिकरण शिक्षक भीम कार्कीले गर्नुभएको थियो ।