इन्द्रावतीको दोस्रो गाँउ सभाको पाँचौं अधिवेशन सम्पन्न, २ विद्येयक पारीत

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर ।

इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँ सभाको पाँच अधिवेशन सम्पन्न भएको छ । आजको गाउँ सभाले २ विद्येयक समेत सर्वसम्मतिले पास गरेको छ ।

आज भएको गाँउ सभाले शिक्षा ऐन पहिलो संशोधन विद्येयक २०८० र खेलकुद विकास विद्येयक २०८० लाई सर्वसम्मतिले पास गरेको हो । यस्तै गाउँ सभाले विनियोजन ऐन आर्थिक वर्ष २०८०/०८१ को संशोधन प्रस्ताव योजना तथा कार्यक्रम संशोधन सम्बन्धी प्रस्ताव (रकमान्तर) समेत पास गरेको छ । यसका साथै गाउँ सभाले ८ वटा कार्यविधि पास गरेको छ ।

शून्य समयमा बोल्दै वडा नम्बर २ का अध्यक्ष श्याम बहादुर गिरिले सामाजिक सुरक्षा भत्ता हात हातमा वितरण गर्नुपर्ने जसले गर्दा जनता र जनप्रतिनिधिको दुरी कम हुने बताउनुभएको थियो । कक्षा १२ सम्म नै दिवा खाजाको व्यवस्था गर्नुपर्ने पनि उहाँले बताउनुभएको छ । १ वडा १ दूध चिस्यान केन्द्र स्थापना र मल वितरणमा अनुदानको व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।

यस्तै विशेष समयमा बोल्दै वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले पालिकामा पहिलो पटक गाँउ सभा रोकिने नजिर बसेको बताउनुभएको छ । समन्वयको कमिका कारण आफूहरू कार्यपालिका बैठकमा उपस्थित हुन नसकेको उहाँले बताउनुभएको छ । समन्वय र सहकार्य नै निकासको बाटो भएकाले आगामी दीनमा यस्ता कमी कमजोरीहरू दोहोर्‍याउन नहुनेमा उहाँले जोड दिनुभएको छ । समृद्ध पालिका बनाउन सिँगाे टिमको नै भूमिका हुने भएकाले सबैलाई समेटेर लान सकेमा मात्र समृद्धिको सपना साकार हुने उहाँले बताउनुभएको छ । 

यस्तै वडा सदस्य खिल प्रसाद आचार्यले अघिल्लो बैठक स्थगित हुनुको कारण माग गर्नुका साथै गाउँ सभाका सदस्यहरूलाई टेबल माग गर्नुभएको छ ।

वडा सदस्य टोम प्रसाद भट्टराईले वडा सदस्य हरूलाई पनि अधिकार दिएर योजना अनुगमन गर्ने जिम्मेवारी दिनुपर्ने बताउनुभएको थियो ।

साथै वडा सदस्य तीर्थबहादुर तामाङले गाउँ सभा स्थगित हुनको कारण माग गर्नुभएको थियो । विषयगत समितिको समय समयमा बैठक बस्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । जनप्रतिनिधिको बिमा लगायतको विषयमा उहाँले शून्य समयमा बोल्नुभएको थियो । यस्तै वडा सदस्य हेमन तामाङले जनप्रतिनिधि र कर्मचारी बिचको खाडल पुरिनुपर्नेमा जोड दिनुभएको छ ।

शून्य समयमा गाँउ सभाका सदस्यहरूको गुनासो सम्बोधन गर्दै इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालले इन्द्रावतीमा सत्तापक्ष र प्रतिपक्षी नभएको भन्दै सबै जनप्रतिनिधिको समान भएको बताउनुभयो । सत्तापक्ष र प्रतिपक्षी भन्नु मनोवैज्ञानिक असर भएको अध्यक्ष नेपालकाे भनाइ थियो । काम गर्ने क्रममा कमी कमजोरी र त्रुटि हुने भएकाले कमजोरीलाई सच्याउँदै जानुको विकल्प नभएको उहाँले बताउनुभयो । अघिल्लो गाउँ सभा गणपूरक सङ्ख्या नपुगेका कारण स्थगित भएको अध्यक्ष नेपालले स्पष्ट पार्नुभयो । उहाँले इन्द्रावतीलाई समृद्ध बनाउनका लागी र स्थानीयलाई लाभान्वित बनाउनका लागी सबैसँग बसेर छलफल गर्न आफू तयार रहेको बताउनुभयो । उहाँले किसानलाई दूध उत्पादनमा लाग्न किसानहरूलाई आग्रह गर्दै चिस्यान केन्द्र राख्नको लागी गाउँपालिका सकारात्मक रहेको बताउनुभयो । मल बिक्री वितरणमा आएको समस्या समाधान गर्नका लागी उहाँले प्रमुख प्रशासकीय अधिकृतको ध्यानाकर्षण गराउनुभयो ।

विधायन समितिका संयोजक तथा वडा नम्बर ९ का वडा अध्यक्ष बाबुराम लामाले शिक्षा ऐन पहिलो संशोधन विद्येयक २०८० प्रस्तुत गर्नुभएको थियो भने गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले खेलकुद विकास विद्येयक २०८० प्रस्तुत गर्नुभयो ।
उपाध्यक्ष सोभना तामाङले आर्थिक वर्ष २०८०/८१ को संशोधन प्रस्ताव पेस गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बनेका कानुन र निर्देशिका कार्यविधि प्रस्तुत गर्नुभएको थियो ।

अहिलेसम्म गाउँपालिकामा ८ वटा कार्यविधि निर्माण गरी कार्यान्वयनमा आएको दुलालले जानकारी दिनुभयो । साथै एउटा आचारसंहिता पनि कार्यान्वयनमा आएको छ ।

यस्ता छन् इन्द्रावतीका ८ कार्यविधिहरू :

१) इन्द्रावती गाउँपालिका विद्युतीय हाजिरी प्रणाली सञ्चालन गर्ने कार्यविधि, २०८०

२) इन्द्रावती गाउँपालिका लैनो गाई भैँसी खरिद तथा प्रवर्द्धनमा अनुदान कार्यविधि, २०८०

३) ग वर्गको अपाङ्गता भएका नागरिकहरूका लागि सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८० 

४) असहाय एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७९ लाई संशोधन गर्न बनेको कार्यविधि, २०८०

५) व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी कार्यविधि, २०८०

६) मृत्यु संस्कार सहायता सम्बन्धी कार्यविधि, २०८०

७) कार्यस्थलमा हुने लैङ्गिक हिंसा विरुद्धको आचारसंहिता, २०८०

८) राजश्व परामर्श समिति कार्य सञ्चालन कार्यविधि, २०८०

Leave a Reply