तेर्से मा.वि.को ३४ औं बार्षिकाेत्सव सम्पन्न

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

तेर्से माध्यमिक विद्यालयको ३४ औं बार्षिक उत्सव सम्पन्न तेर्से माध्यमिक विद्यालयको ३४ औं बार्षिक उत्सव सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य,उपप्रमुख उमा प्रधानको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा पुर्व नगर प्रमुख डम्बर अर्याल, वडा अध्यक्ष प्रेमबहादुर तामाङ,समाजसेवी पुर्व ब्यबस्थापन समिति अध्यक्ष बालकृष्ण देउजा, निलबहादुर शाहि, निवर्तमान वडा अध्यक्ष जितराज थापा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले विद्यालयलाई यो स्थानसम्म ल्याउन सहयोग पुर्याउनेहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले शिक्षण सिकाइ मात्र नभएर स्थानीय तहले गर्नुपर्ने कामका बारेमा अनुगमन गर्ने गरेको बताउनुभयो । उहाँले मेलम्ची नगरपालिका भित्रको उत्कृष्ट विद्यालय भएकाले तेर्से माध्यमिक विद्यालयमा आएर शुभकामना व्यक्त गर्नपाउँदा खुशी लागेको बताउनुभयो । काठमाडौमा रहेको निजि र सरकारी विद्यालय भन्दा पनि गुणस्तरीय शिक्षा प्रदान गरेको उहाँले दावी गर्दै नगरले गर्ने सहयोगमा कुनै कमि नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो । नृत्य प्रशिक्षक,कराँते प्रशिक्षक नियुक्त गरेको जानकारी दिदै प्रमुख तामाङले आवश्यक कक्षा कोठा ब्यबस्थापन देखी सिकाइ क्रियाकलाप वृद्धि गर्ने काममा नगरपालिका सकारात्मक रहेको बताउनुभयो ।

नगर प्रमुख तामाङले स्कुलबस कमि भएको देखिएकाले बस उपलब्ध गराएमा मर्मत सम्भार र तेल खर्च उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नमुना विद्यालयहरुलाई उचित स्थान दिने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले नगरपालिका बाट पाउदै आएको सुविधामा ३ महिनाको १ लाख १२ हजार रुपैयाँ विद्यालयको अक्षय कोष स्थापनाका लागी सहयोग गर्ने बताउनुभयो । उहाँले राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, अभिभावक सबैले कोष स्थापना गर्न आह्वान गर्नुभयो । प्रमुख तामाङले जंगली जनावरको समस्या समाधानको लागी तिनतहकै सरकार मिलेर साझा धारणा बनाएर अगाडि बढ्नेगरी छलफल हुनुपर्ने बताउनुभयो ।

उपप्रमुख उमा प्रधानले तेर्से माध्यमिक विद्यालयले नगरको मात्र नभएर जिल्ला र प्रदेशसम्म नै गुणस्तरीयतामा प्रतिनिधित्व गरेको बताउनुभयो । उहाँले यहाँको शिक्षक,अभिभावक,विद्यार्थी,ब्यबस्थापन समितिको लगावका कारण तेर्से माध्यमिक विद्यालयले फड्को मारेको दावी गर्नुभयो ।

निवर्तमान नगर प्रमुख डम्बर अर्यालले गाउँ गाउँमा सिंहदरबार आयो कि आएन भनेर खोज्नपर्ने बेला आएको बताउनुभयो । उहाँले गाउँमै बसोबास गर्ने बालबालिका, युवा, बृद्धअबस्था भएका अभिभावक हरुको बिचारलाई सुन्नुपर्ने बताउनुभयो । कार्यक्रमका विशेष अतिथि अर्यालले गाउँमा बाँदर लगायत जंगली जनावरले दुःख दिएर किसानले हैरानी भोग्नपरेको उल्लेख गर्दै अब विद्यार्थीले बाँदर नियन्त्रण गर्ने उपायका बारेमा खोजी र अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयमा स्कुल बस अपुग रहेकाले नगरपालिका बाट प्रतिबद्धता नआएमा आफुले स्कुल बस ल्याउनका लागी पहल गर्ने प्रतिबद्धता गर्नुभयो ।

पुर्व विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बालकृष्ण देउजाले विद्यालय स्थापनाकालको स्मरण गर्दै त्यतिबेला गरेको दुःख र मिहेनतले सार्थकता पाएकोमा गर्व लागेको बताउनुभयो । विद्यालयलाई अझै थप उचाईमा पुर्याउनका लागी आगामी दिनमा समेत आवश्यक साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रधानाध्यापक योगबहादुर अर्यालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो भने पूर्व प्रधानाध्यापक कृष्ण ढुंगानाले स्वागत मन्तव्य राख्नुभयो । विद्यालयको बार्षिक उत्सव कार्यक्रम सम्पन्न गर्नका लागी विद्यालयका पुर्व अध्यक्ष निलबहादुर शाहिले ५० हजार सहयोगको घोषणा गर्नुभयो ।

कार्यक्रममा शिक्षक,विद्यार्थी हरुले आफ्नो प्रस्तुति प्रस्तुत गर्दै थप रौनकता भर्नुभएको थियो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण अर्यालको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक राजन लामिछानेले संचालन गर्नुभएको थियो ।

कार्यक्रममा गत १८ गते देखि सञ्चालित विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई प्रधानाध्यापक योग बहादुर अर्यालले नगरपालिका दिएको १० हजारमा करकट्टि भएको रकमलाई थप गरेर प्रदान गर्दै प्रमाणपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट अंक ल्याउने विषय शिक्षक,नियमित विद्यालय आउने शिक्षक,पूर्व शिक्षक लगायतलाई सम्मान गरिएको थियो ।

Leave a Reply