रेडियो मिसन नवलपुर ।
इन्द्रावती गाउँपालिकामा ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस भब्यताका साथ मनाएको छ । गाउँपालिका स्तरीय अपाङ्गता समन्वय समितिको आयोजना तथा सप्रोस नेपाल र महिला आत्मनिर्भरता केन्द्र मांकको आर्थिक सहयोगमा दिवसको मुल समारोह कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले निर्वाचित भएर आएपछि गाउँपालिका तथा वडा स्तरीय अपाङ्गता समन्वय समितिका गठन गर्न सफल भएको बताउँदै संस्थागत विकासको लागि नीति कार्यक्रममै समेटेर बजेट छुट्याएको उहाँले बताउनुभयो । त्यस्तै उहाँले क र ख वर्गका अपाङ्गता भएकाहरुको लागि सरकारले भत्ता दिने गरेकोमा अब गाउँपालिकाले ग वर्गका अपाङ्गता भएका व्यक्तिहरूका लागि भत्ताको व्यवस्था गर्ने बताउनुभयो । चालु आर्थिक वर्षदेखिनै यस कार्यक्रम लागू गरिने उहाँको भनाई छ । अपाङ्गता भएकाहरूको क्षेत्रमा गाउँपालिका लगायत वडाले समेत बजेट छुट्याएर काम गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमका बिशेष अतिथि शोभाना तामाङले गाउँपालिकाले अपाङ्गताको क्षेत्रमा बिभिन्न कामहरु गर्दै आएको स्मरण गराउँदै आउँदा दिनमा पनि गाउँपालिका साथमै रहने बताउनुभयो । साथै आफ्नो अधिकारको बारेमा आफै स्पष्ट हुनपर्ने पनि उहाँको भनाई थियो । अपाङ्गताको क्षेत्रमा सहयोगी भएर काम गर्दै आएका सङ्घसंस्थाप्रति आभार ब्यक्त गर्दै पालिकाबाट गर्न सकिने सहयोगमा कन्जुस्याँइ नगर्ने उहाँले बताउनुभयो ।

कार्यक्रमका बिशेष अतिथि वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले वडा स्तरीय अपाङ्गता समन्वय समितिको लागी वडा कार्यलयमा एउटा कोठाको ब्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । साथै शिक्षा स्वास्थ्य लगायत समाजका हरेक क्षेत्रमा अपाङ्गता भएका ब्यक्तिहरुको पनि पहुँच हुन जरुरी रहेको उहाँको धारणा थियो ।

सहयोगी सँस्था सप्रोस नेपालका संयोजक सञ्जय शर्माले यस क्षेत्रमा समन्वय गर्दै काम गर्न पाएकोमा खुशी लागेको बताउँदै अब सँस्थाको कार्यक्रमहरु अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।


कार्यक्रमको अवसरमा गाउँपालिकामै गत १४ गते भएको वक्तृत्वकाला प्रतियोगितामा प्रथम द्वीतीय तृतीय तथा सन्त्वना स्थान हाँसिल गरेका बिभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई नगद पुरष्कार सहित प्रमाणपत्र पनि बितरण गरेको छ । प्रतियोगितामा सिंहमती माध्यामिक बिद्यालयका नेहा थापा प्रथम, महेन्द्र माध्यामिक बिद्यालयका अप्सरा सुनार द्वीतीय, राजेश्वरी माध्यामिक बिद्यालयका एलिना श्रेष्ठ तृतीय र सिपा तिनघरे संस्कृत माध्यामिक बिद्यालयका सुस्मिता आचार्यले सन्त्वना स्थान हाँसिल गरेका थिए ।




कार्यक्रममा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, उपाध्यक्ष, शोभाना तामाङ, वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङ, वडा नम्बर १० का अध्यक्ष रामचन्द्र घिमिरे, वडा नम्बर १ का अध्यक्ष चिनलाल तामाङ, अन्य जनप्रतिनिधीहरु, प्रहरी, स्वास्थ्यकर्मी, पत्रकार लगायत १२ वटै वडाका अपाङ्गता भएका ब्यक्तिहरु गरी ११० जनाको सहभागीता रहेको थियो ।