इन्द्रावती ९ मा रहेको जलेश्वरी आधारभूत विद्यालयको ४६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस बनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले गाउँपालिकाले कक्षा १ देखि ८ सम्म पाठ्यक्रममा आधारित पाठ्यपुस्तक वितरण गरेको बताउनुभयो । सिकाई उपलब्धि एक शैक्षिक सत्रमा १५ प्रतिशत बढाएको बताउँदै आगामी वर्ष ७० प्रतिशत पु¥याउने लक्ष्य राखेको नेपालले बताउनुभयो । आम समृद्धिका लागि शैक्षिक समृद्धि प्राप्त गर्न पालिकाको एक तिहाइ बजेट खर्च गरिरहेको पनि अध्यक्ष नेपालले बताउनुभयो । २०४४ साल माघ ८ देखि २०४७ फागुन १ गतेसम्म आफैँले अध्यापन गराएको विद्यालय भएकाले पनि धेरै माया भएको उहाँले बताउनुभयो । विद्यालय राम्रो बनाउन वि व्यास परिवार, विद्यालय परीवार, जागरूक अभिभावक र कुशल विद्यार्थी भएका शैक्षिक सुधारमा आमूल परिवर्तन आउने अध्यक्ष नेपालले बताउनुभयो । शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि सबै विषय शिक्षकहरूलाई तालिम दिइएको उहाँले बताउनुभयो । पालिकाले आफ्नो तर्फबाट पुस्तकालय तथा कम्प्युटर ल्याबका लागि सहयोग गरिसकेको साथै सिसिटिभीबाट अनुगमन गर्न सकिने त्यो व्यवस्थापन पालिकाले गरिदिएको अध्यक्ष नेपालले बताउनुभयो ।
यस्तै कार्यक्रमको अवसरमा बोल्दै वडा अध्यक्ष बाबुराम लामाले अबको शिक्षा व्यावहारिक र जीवन उपयोगी हुनुपर्नेमा जोड दिनुभएको छ । विद्यालयको हितका लागि वडाले गर्नुपर्ने सबै खाले सहयोग गर्ने उहाँले बताउनुभएको छ । अब विद्यालयले सिकाई उपलब्धिमा ध्यान दिनुपर्ने बेला आएको पनि उहाँले बताउनुभएको छ । अबको शिक्षा परिणाममुखी हुनुपर्ने वडा अध्यक्ष लामाको भनाई छ । विद्यालयको भवन सम्पन्न भए पनि खेलमैदान अभाव रहेकाले सहजी करणमा वडाले साथ दिने उहाँले बताउनुभयो ।
समाजसेवी तथा राजनीतिक दलका प्रतिनिधीहरुले पनि शुभकामना मन्तव्य राखेको कार्यक्रम समापन गर्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुनिल तामाङले विद्यालयमा भौतिक रूपमा केही संरुचनाहरुको काम बाँकी रहे पनि शिक्षण सिकाइमा धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । साथै आगामी दीनमा विद्यालयको शैक्षणिक क्रियाकलापहरू वृद्धि गर्दै गुणस्तरीय शिक्षा दिन आफूहरू लागिपरेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन विद्यालयका प्रधानाध्यापक विनोद तामाङले प्रस्तुत गर्नुभएको थियो । यस्तै विद्यालयका पूर्व प्रधानाध्यापक तथा हालका इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नाथ नेपाललाई विद्यालयले सम्मान गरेको थियो । विद्यालयले आयोजना गरेको विभिन्न अतिरिक्त क्रियाकलापहरूमा विजयी भएका विद्यार्थीहरूलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
कार्यक्रममा समाजसेवी, राजनीतिक दलका प्रतिनिधिहरू लगायत अभिभावकहरूको सहभागितामा सम्पन्न भएको हो ।