रेडियो मिसन, मेलम्ची ।
आर्थिक अभावका कारण ब्यबहार धान्न गाह्रो भएको कारण देखाउँदै आत्महत्याको बाटो रोजेका मेलम्ची ११ का गुरुप्रसाद दुलालको परिवार अहिले आर्थिक अवस्था सुधार्नका लागि सहयोग संकलन अभियान सञ्चालन गरिरहेको छ ।
देशमा आएको आर्थिक दुरावस्था, व्यवसायमा आएको चरम मन्दी, बित्तीय कर्जामा अनपेक्षित ब्याज वृद्धि र कर्जा तिर्न बैंकिङ दबाब, बढ्दो सामाजिक आर्थिक असुरक्षाका कारण आत्महत्या गर्नुपरेको दुलालको परिवारको आर्थिक स्थिति अत्यन्तै कमजोर रहेका कारण अहिले उनको ३ छोरी १ छोरा बृद्ध आमा र श्रीमतिको परिवार परर्निभर भएको छ । अहिले आर्थिक संकलनको काम सँगै शैक्षिक क्षेत्रमा समेत सहयोगिहरुले प्रतिबद्धता जनाउन थालेका छन् ।
बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ (समीर) ले दुलालकी कान्छि छोरी सुजता दुलालको माध्यमिक तह (प्लस टु) अध्ययनको लागि लाग्ने सम्पुर्ण खर्च आफुले ब्यहोर्ने प्रतिबद्धता जनाउनुभएको हो । उहाँको उच्च शिक्षा अध्ययनमा पनि आफ्नो निरन्तर साथ र सहयोग रहिरहने तामाङले प्रतिबद्धता जनाउनुभएको स्वकिय सचिव विशाल राउतले जानकारी दिनुभयो । स्वर्गीय दुलालकी छोरी सुजता यसै वर्ष इन्द्रेश्वरी माध्यामिक बिद्यालयबाट माध्यामिक शिक्षा परिक्षा एसइइ दिएर नतिजाको पर्खाइमा हुनुहुन्छ ।
यसैबिच सांसद तामाङले आज साेमबार बाढी प्रभावित मेलम्ची–११ को विभिन्न स्थानको निरिक्षण गर्नुभएको छ । इलाका प्रहरी कार्यालय मेलम्ची देखि खानेपानी साइड कार्यालय सम्मको बस्तिको अवलोकन गर्नुभएको सांसद तामाङका स्वकिय सचिव विशाल राउतले जानकारी दिनुभयो ।
बिशेषगरि बाढिबाट अति संबेदनशिल अवस्थामा रहेको स्व गुरु प्रसाद दुलालको घरपरिवार र त्यहाँका नागरिकहरुले गत १६ गते दुलालको परिवारलाई भेटघाट गर्न आफ्ना समस्या सांसद तामाङ समक्ष राखेका थिए ।
त्यहाँका बस्ति र संरचना जोगाउनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभएका तामाङले आज खानेपानी तथा सिचाई डिभिजन कार्यालय चौताराका प्रमुख थलबहादुर तामाङलाई आवश्यक कार्य गरी तटबन्धको ब्यबस्था मिलाउन आग्रह गर्नुभयो । अब बर्खा लागेसँगै नदिकिनारमा जोखिममा रहेका नागरिकहरुमा त्रास उत्पन्न हुने हुँदा बर्खा अगावै समयैमा काम सम्पन्न हुनेगरि कार्य थाल्न समेत तामाङले आग्रह गर्नुभएको स्वकिय सचिव राउतले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा कार्यालय प्रमुख थलबहादुर तामाङले बस्ती र त्यहाँको संरचनालाई बर्षामा तारबार र जालिको ब्यबस्थापन हुने प्रतिबद्धता जनाउनुभएको थियो ।