इन्द्रावती गाउपालिका वडा नम्बर ८ मा निशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाको आयोजना तथा सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
आज एक औपचारिक कार्यक्रम गरी शिविर सुरु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले पालिकाका नागरिकहरूको सेवाको लागि शिविर आयोजना गरेको बताउनुभयो । विशेषगरी महिला दिदीबहिनीहरूले रोग लुकाउने बानीले सानो रोग पनि ठुलो भएर जाने हुँदा आफ्नो समस्या खुलस्त रुपमा राख्न अध्यक्ष नेपालले आग्रह गर्नुभएको थियो । अब पालिकाले संस्थासँग समन्वय गरी निरन्तर काम गरिरहने बताउनुभयो ।
शिविरमा महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी रोगको परीक्षण गर्नुका साथै पाठेघर खस्ने समस्याको चेकजाँच गरिएको हो । साथै पाठेघर खसेकाहरुलाई निशुल्क अप्रेसन गरीने स्वास्थ्य सिपापोखरे स्वास्थ्य चौकीका इन्चार्ज गौरीशंकर तामाङले जानकारी दिनुभयो ।
शिविरमा ४९१ जनाले चेकजाँच गराएका छन् । जसमध्ये ९५ जनाको आङ खसेको पाइएको छ । ३० जनाको पाठेघरको सुरक्षाका लागि रिङ राखिएको छ । ३९० जनाले पाठेघरको चेकजाँज गरेकोमा १९ जनाको अप्रेसन गर्नुपर्ने भएको छ । यस्तै २५० जनाको पाठेघरको मुखमा खराबी देखिएको छ । अप्रेसन गर्नुपर्नेहरू १९ जनालाई बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा अप्रेसन गरिने स्वास्थ्य सहायक गौरीशंकर तामाङले जानकारी दिनुभयो ।
पाठेघरको मुखको क्यान्सर जाँच, पिसाब चुहिने रोगको पहिचान र उपचार, आङ खस्ने रोगको प्रतिरोधात्मक उपचार तथा परामर्श, फिस्टुला पहिचान तथा उपचार, भिडियो एक्सरे तथा महिलाका सम्पूर्ण रोगहरूको पहिचान गर्नुका साथै उपचार गरिएको छ ।
सामुदायिक सेवा प्रतिष्ठान भक्तपुरसँगको समन्वयकर्ता नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य नवराज सापकोटाले आगामी दीनमा पनि संस्थासँग समन्वय गरी पालिकामा यस्ता खाले शिविरहरू सञ्चालन गरिरहन जानकारी दिनुभयो ।
शिविरमा डा ः रूपा कर्माचार्य, फिजिसियन डा ः एञ्जिला बस्नेत, रेडियोलोजिस्ट डा ः आशिष सिंह र स्त्री रोग विशेषज्ञ डा ः सुष्मा प्रधान तथा इन्द्रावती गाउँपालिकाका स्वास्थ्यकर्मी तथा स्वयमसेविकाहरुको समुहले सेवा दीएको हो ।
शिविरमा इन्द्रावती गाउँपालिकाका वडा नम्बर २ का अध्यक्ष श्याम बहादुर गिरी, वडा नम्बर ३ का अध्यक्ष भिमसेन थापा, वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङ, वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्य, वडा नम्बर ६ का अध्यक्ष इन्द्र बहादुर तामाङ, वडा नम्बर ७ का अध्यक्ष रवीन्द्र कुमार खाती, वडा नम्बर ८ का अध्यक्ष दिलकुमार श्रेष्ठ, वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामा र वडा नम्बर १० का वडा अध्यक्ष रामचन्द्र धिमीरे तथा वडा सदस्यहरू, इन्द्रावती गाउँपालिकाका प्रेस संयोजक सुनील तामाङका साथै राजनीतिक दलका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो ।