इन्द्रावती गाउँपालिका वडा नम्बर ४ द्वारा लप्सीको कलमी बिरुवा वितरण

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

नवलपुर । इन्द्रावती गाउँपालिका वडा नम्बर ४ ले लप्सीको कलमी बिरुवा वितरण गरेको छ। वडा कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम लप्सी खेती प्रवर्धन मार्फत ७५% अनुदानमा कलमी बिरुवा वितरण गरेको हो। आज वडा कार्यालयमा एक औपचारिक कार्यक्रमका बीच मागमा आधारित किसानहरूलाई बिरुवा वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख अतिथितामा सम्पन्न कार्यक्रममा किसानहरूलाई बिरुवा हस्तान्तरण गर्दै उहाँले अब बिरुवाको दायित्व वडाबाट किसानहरूमा सारिएको र यसको संरक्षण र प्रवर्धनको जिम्मा किसानहरूको हातमा रहेको बताउनुभयो।

वडा अध्यक्ष क्षेत्रबहादुर तामाङले बिरुवा लगिसकेपछि प्राविधिक ज्ञान लिएर मात्रै त्यसलाई रोप्न आग्रह गर्नुभयो। साथै वडा बासीको निरन्तर साथ र सक्रियता रहेमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन वडा तयार रहेको बताउनुभयो । सबैको साथ र सहयोगमा वडा अघि बढिरहेको बताउँदै उत्पादन भएका किसानका उत्पादकत्वहरूको बजार प्रवर्धनमा पनि वडाको साथ रहने उहाँको भनाइ छ। साथै वडाले ल्याएका कार्यक्रमहरूमा किसानहरूले साथ दिइ निश्चित वस्तुको पकेट क्षेत्र को रुपमा विकास गर्न सके आर्थिक पाटो सबल हुने पनि उहाँको धारणा थियो।

७५ प्रतिशत अनुदानमा वितरण गरिने उक्त बिरुवाको मूल्य ४० रुपैयाँ पर्ने र हाल १५०० वटा बिरुवा वितरणका लागि वडामा उपलब्ध रहेको वडा सचिव मदन कुमार भट्टराईले जानकारी दिनुभयो । साथै कम्तीमा एक व्यक्तिले १० वटा बिरुवा रोप्नुपर्ने पनि उहाँले बताउनुभयो।

गाउँपालिका अध्यक्ष झम्कानाथ नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष क्षेत्रबहादुर तामाङ, वडा सदस्यहरू गोविन्द तामाङ, रेशम बहादुर तामाङ, गाउँपालिका कृषि शाखाका प्रमुख रविना कोजु, वडा सचिव मदन कुमार भट्टराई, वडा नम्बर १० का सदस्य हेमन तामाङ, बडा कृषि प्राविधिक देवीमाया सुनुवार, वडाभित्रका किसानहरू लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply