इन्द्रावती साना किसान सहकारीको नवलपुरमा कार्यालय उद्घाटन 

* # अर्थ बाणिज्य समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावती साना किसान कृषि सहकारीले नवलपुरमा केन्द्रीय कार्यालयको उद्घाटन गरेको छ । आज एक कार्यक्रमका बिच नवलपुर बजारमा गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले “गन्तव्य स्वरोजगारीको, अभियान सहकारीको” भन्ने मूल नाराका साथ काम गरिरहेका सहकारी मुलुकको अर्थतन्त्रको मेरुदण्ड रुपमा रहेको बताउनुभयो । मुलुकको तिन खम्बे अर्थ नीतिमा सहकारी बलियो रुपमा उभिएको उहाँले बताउनुभयो । पालिकाले सहकारी विकासको लागि हरेक वर्ष सहकारी प्रोत्साहन तथा सहकारी अवलोकन भ्रमण गराएको उहाँले बताउनुभयो । पालिकाले उत्पादनको आधारमा दिएको अनुदान प्रभावकारी भएको बताउनुभयो । पालिकाको दूधमा दिइएको अनुदान सहकारी मार्फत किसानसम्म पुर्याएको अध्यक्ष नेपालले बताउनुभयो । ६ लाख लिटर उत्पादन हुँदै आएको दूध १२ लाख उत्पादनको लक्ष्य लिएकोमा १३ लाख ५८ हजार लिटर दूध उत्पादन गर्न सफल भएको पनि उहाँले बताउनुभयो । पालिकाका ७० प्रतिशत कृषिमा आश्रित रहेका जनताको आर्थिक जीवनस्तर माथि उठाउन सहकारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै इन्द्रावती गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामप्रसाद शर्माले सहकारी स्थापना हुन नसक्दा साना साना पुंजिहरू संकलन गर्न असहज परिस्थितिलाई चिदैृ आज गाउँगाउँमा सहकारी स्थापन हुनु खुसीको कुरा भएको बताउनुभयो । २०४६ सालपछि सहकारी स्थापना भएका ३५ हजार सहकारीमा ७० लाख सेयर सदस्य ५८ प्रतिशत महिला सदस्य हुनु गौरवको विषय भएको उहाँले बताउनुभयो । इन्द्रावतीमा ७२ वटा सहकारी रहेपनि सबैले क्रियासित रुपमा काम नगरेको उहाँले बताउनुभयो । इन्द्रावती र भोटसिपा साना किसान सहकारीले पुंजि सङ्कलनमा उदाहरणीय काम गरेकाले अरुले पनि सिक्नुपर्ने उहाँले बताउनुभयो । पालिकाले कसैलाई विभेद नगर्ने तर पालिकाले तय गरेको नीति नियम पालना गर्नुपर्ने उहाँले बताउनुभयो ।

पालिकाको केन्द्रमा कार्यालय रहँदा सबै वडाका नागरिकले सेवा लिन सक्ने वातावरण बनेको इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले बताउनुभयो । सहकारीले तय गरेको लक्ष्यले नागरिकलाई आयआर्जनमा जोडिन सहयोग पुग्ने उहाँले बताउनुभयो । इन्द्रावतीमा वार्षिक ७ हजारको हाराहारीमा श्रम बजारमा आउने युवालाई स्वरोजगार बनाउन सहकारीले भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । इन्द्रावती साना किसान कृषि सहकारी संस्थाले सहकारी मार्फत पशु बिमा गराई क्षति भएका किसानहरूलाई ५० प्रतिशत भुक्तानी पनि आज हस्तान्तरण गरेको छ ।

प्रतिस्पर्धा मात्रै नभई साना किसान कृषि सहकारीलाई ग्रामीण भेगका नागरिकलाई आय आर्जनको क्षेत्रमा जोड्ने लक्ष्यका साथ अघि बढेको सहकारीका अध्यक्ष रामशरण गिरीले बताउनुभयो । सरकारले प्रदान गर्ने ब्याज र अनुदानलाई नागरिक समक्ष पुर्याउने अभियानमा सहकारी लागिरहने पनि उहाँले बताउनुभयो । जाँगर भएकाहरूलाई उत्पादनमा जोडी आयआर्जनका काममा जोड्दै लैजाने पनि उहाँले बताउनुभयो । इन्द्रावती साना किसान कृषि सहकारीको कार्यालय उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू लगायत स्थानिय हरुको उपस्थिति रहेको थियो ।

Leave a Reply