सिन्धुपाल्चोकको स्वास्थ्य उपलब्धि: पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

सिन्धुपाल्चोक । नियमित खोप पाउनुपर्ने सबै बालबालिकाको पहुँच सुनिश्चित गरेपछि सिन्धुपाल्चोकलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। तर सरोकारवालाले घोषणा मात्रै अन्तिम लक्ष्य नभई आगामी दिनमा कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने वातावरण कायम राख्नु नै सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन्।

जिल्ला समन्वय समितिको आयोजनामा सम्पन्न घोषणा कार्यक्रममा जिल्लाका १०३ वटै वडामा रहेका १५१ स्वास्थ्य संस्था र ७११ जना महिला स्वास्थ्य स्वयंसेविकाको सक्रिय परिचालनबाट नियमित खोप अभियान सफल भएको जानकारी दिइयो।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईंका अनुसार नियमित खोप पाउनुपर्ने लक्षित समूहका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसारका १४ प्रकारका नियमित खोप प्राप्त गरेका छन्। साथै १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले पनि राष्ट्रिय खोप तालिकाअनुसारका सबै खोप पूरा गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले पूर्ण खोप सुनिश्चित हुनु स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भए पनि यसको दिगोपना कायम राख्न स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र समुदायबीच निरन्तर सहकार्य आवश्यक रहने बताए। उनले प्रत्येक नवजात शिशुलाई समयमै खोपको पहुँचमा ल्याउन नियमित अनुगमन र जनचेतना कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयाे।

जिल्ला समन्वय समितिका उपप्रमुख पदमनाथ नेपालले नियमित खोप कार्यक्रम बालबालिकाको जीवन रक्षा र स्वस्थ भविष्यको आधार भएको उल्लेख गर्दै सेवा प्रवाहको गुणस्तर र नियमिततालाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयाे।

इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले स्थानीय तहले खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने वातावरण निर्माणका लागि आवश्यक स्रोत र जनशक्ति परिचालन गर्दै आएको बताउनुभयाे।

मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले पूर्ण खोप सुनिश्चित अभियान सफल बनाउन स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अभिभावकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यही सहकार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयाे।

विश्व स्वास्थ्य संगठनका डा. रुपेश तिमिल्सिनाले नियमित खोपले बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउने भएकाले खोप कार्यक्रमको निरन्तरता, प्रभावकारी निगरानी र व्यवस्थित अभिलेखीकरणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयाे। कार्यक्रममा उनले बागमती प्रदेश सरकारद्वारा प्रदान गरिएको पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र जिल्ला खोप समन्वय समितिलाई हस्तान्तरण गरेका थिए।

सरोकारवालाले पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भए पनि बसाइँसराइ, नयाँ जन्मिने बालबालिकाको नियमित अभिलेख र समयमै खोप सुनिश्चित गर्दै यो उपलब्धिलाई दीगो बनाउनु अबको मुख्य जिम्मेवारी भएको बताएका छन्।

Leave a Reply