पोखरी नै पोखरीको गाउँ बन्दै चौतारा ११

* # जीवन शैली पालीका खबर प्रविधि समाचार समाज सिन्धुपाल्चोक

चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ११ ले हिउँद र बर्खा दुवै मौसममा कृषि क्षेत्रलाई हरियाली राख्ने ‘पोखरी योजना’ ल्याएको छ । वडाध्यक्ष रोशन गिरीको अगुवाईमा यो अभियान सुरु भएको हो ।


बर्खा जसरी हिउँदमा पनि कृषि बाली लगाउन वडाले तय गरेको ‘झरेको पात र परेको पानी सदुपयोग अभियान’लाई वडावासीले दैनिक श्रमदान गरेर साथ दिइरहेका छन् । आकाशबाट परेको पानी जम्मा गर्ने र वडाभित्र रहेका जंगल, खेतबारीमा झरेको पात संकलन गरेर कम्पोस्ट मल बनाउन छुट्टाछुट्टै पोखरी निर्माण गरिएका छन् । हालसम्म नगरपालिका र वडाको ४० लाख लगानी तथा वडावासीको श्रमदानबाट सात सय पोखरी निर्माण भएका छन् ।


वडाको बीच भागमा एउटा बृहत् पोखरी निर्माण गरिएको छ । जहाँ एक करोड लिटरभन्दा बढी पानी अट्छ। टारी खेतबारीलाई लक्षित गरेर बर्खामा रोपाइँ गर्न ठाउँठाउँमा स–साना पोखरी निर्माण गरिएको छ । त्यसैगरी, करेसाबारीको लागि घरको छतबाट खसेको पानी संकलन गर्ने घरैपिच्छे पोखरी तयार गर्न थालिएको छ । प्रत्येक टोलमा भैँसी आहाल बस्ने पोखरी बनाइएको छ । पानीको मूल र मुहानको प्रकृति जीवित राख्न पाँच सयवटा पुनर्भरण पोखरी बनाइएको छ ।

जंगलमा झरेको पात संकलन गर्न एक सयवटा पोखरी (खाल्डो) तयार गरिएको छ । १० भन्दा बढी पोखरी घाँसको साइलेजका लागि बनाइएको छ । बर्खामा कटिङ गरेको घाँस हरियो राख्ने प्रविधि साइलेज हो । पोखरी नीतिले गाउँमा पानीको मुहान बढेका छन् । थोरै लगानी गरेर धेरै परिणाम हासिल भएकाले वडामा आएको ८५ लाख बजेटमध्ये ६० लाख कृषिमा विनियोजन गरिएको छ । हिउँद लक्षित सात सयभन्दा बढी पोखरीमा अहिले धमाधम बर्खे पानी जम्मा भइरहेको छ ।

Leave a Reply