रविन दनुवार
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्वमा र इन्द्रावती गाउँपालिकाको सहयोगमा राजेश्वरी मावि द्वारा आयोजित पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन भएको छ । इन्द्रावती गाउपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यमामा कार्यक्रम समापन भएको हो।
छात्र भलिबल प्रतियोगितामा प्रथम राजेश्वरी मावि दोस्रो ऐसेलुखर्क मावि र तेस्रोमा भिमेश्वरी मावि हुन सफल भएको रेफ्री संयोजक एवं राजेश्वरी माविका शिक्षक प्रताप सिंह तामाङले जानकारी दिनुभयो । त्यसैगरी छात्रा भलिबल प्रतियोगितामा प्रथम राजेश्वरी मावि , दोस्रो भिमेश्वरी मावि र तेस्रोमा सिपातीनधारा मावि भएको उहाँले बताउनुभयो । तर समग्र प्रतियोगितामा भने प्रथममा राजेश्वरी मावि दोस्रोमा ऐसेलुखर्क र तेस्रोमा भिमेश्वरी मावि भएको उहाले बताउनुभयो। भलिबल सँगै एथलेटिक्स प्रतियोगिता पनि भएको थियो ।
पालिका अध्यक्ष झम्कनाथ नेपालले बिजयी खेलाडीहरूलाई बधाई दिदै विद्यार्थीहरूको विकास , बिस्तार र सुदृढीकरण गर्नका निम्ति पालिका सदैव प्रतिबद्ध रहेको बताउनुभयो । बजेटको अभावमा कतिपय विद्यालयहरू प्रतियोगितामा भाग लिन नसकेको खबर प्राप्त भएपछि खेलको पूर्व तयारीको लागि १२ माध्यमिक विद्यालयलाई अनुदान स्वरुप प्रति विद्यालय ८ हजारको दरले रकम विनियोजन गरिदिएको उहाले बताउनुभयो । बजेट अभावका कारण खेल गतिविधी रोकीन नहुनेमा उहाँले जोड दीनुभएको छ ।अनुशासित ,मर्यादित, व्यवस्थित र प्रभावकारी ढंगले प्रतियोगिता सञ्चालन गरी जिल्लाकै उत्कृष्ट पालिका बनाउन इन्द्रावती गाउपालिका प्रतिबद्ध रहेको उहाको भनाइ थियो । पाठ्यान्तर क्रियाकलाप जस्तै अतिरिक्त क्रियाकलापलाई पनि व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्ने आवश्यक रहेको नेपालले बताउनुभयो। । ४३ सामुदायिक विद्यालयहरूका प्रधानाध्यापकहरू सँगको छलफलले ५० बुदे करारमा पनि अतिरिक्त क्रियाकलापलाई महत्त्व दिएको उहाँले जानकारी दिनुभयो । असफलता नै सफलताको प्रतीक हो भन्दै खेलमा पराजित खेलाडीहरूलाई हौसला प्रदान गर्नु हुँदै आगामी दिनहरूमा अझै मिहिनेत गर्नुपर्ने आवश्यक रहेको उहाँले बताउनुभयो ।
वडा नम्बर ७ का अध्यक्ष रबिन्द्र कुमार खातीले विद्यालयहरूमा पाठ्यक्रम सँगै अतिरिक्त क्रियाकलापको पनि आवश्यकता रहेको बताउनुभयो । त्यसै अनुरुप वडाबाट अतिरिक्त क्रियाकलापका नलागी आवश्यक बजेटको व्यवस्थापन गरिने बताउनुभयो । पालिका बाट पनि खेल तथा अतिरिक्त क्रियाकलापका लागि बजेट व्यवस्थापन गराउन पहल गर्ने उहाँले बताउनुभयो । विद्यार्थी सँग जनप्रतिनिधि भन्ने कार्यक्रम बारे छलफल भइरहेको अध्यक्ष खातीले बताउनुभयो । त्यस्तै दक्ष , मिहिनेती , अनुशासित समाजले मात्रै समृद्ध समाजको परिकल्पना गर्न सकिने उहाँको तर्क थियो ।
वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले विजेता खेलाडीहरूलाई बधाई दिनु हुँदै आफ्नो क्षेत्रबाट खेल क्षेत्रमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । अध्यक्षले विद्यार्थीहरुले पालिका स्तरीय मात्रै नभइ राष्ट्रिय स्तरको खेलमा पनि भाग लिन सक्ने क्षमतावान खेलाडी बन्न पर्नेमा जोडदिनुभयो ।