इन्द्रावती १२ पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषण, एक वर्षमा ५९ महिला स्वास्थ चौकीमा गएर सुत्केरी भए

* # जीवन शैली पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रेडियो मिसन ।
इन्द्रावती गाउँपालिका वडा नम्बर १२ पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषण भएको छ । आज सोमबार भिमटार स्वास्थ चौकीमा एक कार्यक्रम गरि वडालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त वडा घोषणा गरिएको हो ।

वडा नम्बर १२ मा अब घरमा सुत्केरी हुने अवस्था अन्त्य भएको र स्वास्थ्य चौकीमै सुत्केरी गराउँदा सुरक्षित हुन्छ भन्ने चेतना सबैमा जागृत भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठले बताउनुभयो । स्वास्थ्य चौकीले वर्ष भरिमा ५० जना महिलाको प्रसुती गराउनुपर्नेमा ५९ जनाको प्रसुती गराएको र जुन ११८ प्रतिशत रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

यसरी स्वास्थ्य चौकीमा गई प्रसुती गराउँदा आमा र बच्चाको स्वास्थ्यमा जोखिम नआउने भएकोले सबैले स्वास्थ्य चौकीमै सुत्केरी गराउनुपर्ने स्वास्थ्य शाखाकी सरस्वती खनालले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले क्रमश पालिकाका सबै वडालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त घोषणा गर्दै लैजाने बताउनुभएको शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । स्वास्थ्य पनि समृद्धिको एक मुख्य सुचक भएकोले यो हुन आवश्यक रहेको अध्यक्ष नेपालको भनाई थियो ।

गाउँपालिकाका उपाध्यक्ष शोभना तामाङले सुत्केरी सँग उपाध्यक्ष कार्यक्रम गाउँपालिकाको निति तथा कार्यक्रममै समावेश गरी लागु गरेको र यो कार्यक्रा एकदमै प्रभावकारी भइरहेको बताउनुभयो ।

स्वास्थ चौकी प्रमुख जनस्वास्थ्य निरिक्षक अर्जुन श्रेष्ठले अझ जिम्मेवारी र यसलाई निरन्तरता दिनुपर्ने चुनौती थपिएको बताउनुभयो ।

कार्यक्रमको अवसरमा स्वास्थ चौकीमा कार्यरत २ जना नर्सिङ स्टाफलाई सम्मान गरेको छ । वडाले उत्त्कृष्ठ काम गरेबापत् स्वास्थ्य चौकीका सिनियर अनमी सरिता तिमल्सिना र गिता श्रेष्ठलाई जनही १० हजार नगद सहित सम्मान गरेको हो । साथै वडा स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रशंसा पत्र सहित सम्मान गरेको छ ।

वडा नम्बर १२ का अध्यक्ष सुरेन्द्र दनुवारको सभापतित्वमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, उपाध्यक्ष शोभना तामाङ, वडा अध्यक्ष सुरेन्द्र दनुवार, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, स्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठ, स्वास्थ्यकर्मीहरु तथा स्थानीयको उपस्थिती रहेको थियो ।

Leave a Reply