रेडियो मिसन, नवलपुर ।
वृक्षरोपणमा हाम्रो एकता, हरियाली सडक निर्माणमा प्रतिवद्वता भन्ने नारा सहित इन्द्रावती गाउँपालिका ४ नं वडा कार्यालयको आयोजनामा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्वनका लागि वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो । वडाले आर्थिक बर्ष २०८०/८१ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत वृक्षरोपणमा कार्यक्रम गरेको हो । करविर र ज्याकल्यान्डा लगायतका बिरुवा सडक छेउमा रोपिएको छ ।
कर्यक्रमको अवसरमा आफ्नो भनाई राख्दै गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले वातावरणलाई मानवमैत्री बनाउनुपर्ने बताउनुभयो । मानवको लागि वातावरण अपरिहार्य भएकोले यसका लागी गाउँपालिकाले कदम चाल्ने उहाँको भनाई छ । अध्यक्ष नेपालले भन्नुभयो “वाताबरणीय प्रभावका कारण जलवायु परिवर्तन हुने र यसको प्रभावले गर्दा अहिले मौसममा गडबडी आइरहने र समयमा पानी नपर्ने समस्या भएको छ, हरियाली प्रवर्द्वन गर्नु भनेको अक्सिजन उत्पादन गर्नु हो । हाम्रो वातावरण बिग्रिएको छ, यसको संरक्षण गर्नु हाम्रो दायित्व हो,” उहाँले भन्नुभयो । मानव सिर्जित कारण र बिकसित मुलुकले गरेको औद्योगिकरणका कारण वातावरण बिग्रिएको उहाँको भनाई छ ।
इन्द्रावती गाउँपालिका उपाध्यक्ष शोभना तामाङले यस्तै वृक्षरोपण कार्यक्रम गाउँपालिकाको हरेक वडामा गर्नुपर्ने बताउनुभयो । सबै वडामा यसरी बृक्षराण गर्नसके हरियाली प्रवर्द्वनमा गउँपालिका भित्र मात्रै नभई वातवरणलाई नै सहयोग पुग्ने उहाँको भनाई छ ।
इन्द्रावती ४ का अध्यक्ष, क्षेत्र बहादुर तामाङले वातावरण स्वच्छ भएमात्र हाम्रो अस्तित्व रहने भएकोले वातावरण संरक्षण तथा हरियाली प्रवर्द्वनका लागि वृक्षरोपण गरिएको बताउनुभयो । वृक्षरोपण संगै अम्रीसो खेती प्रवर्द्वन अन्तर्गत वडाले यसै वर्षबाट वडा भित्र रहेका खाली जमिनमा अम्रीसो रोपेर नागरिकलाई आयआर्जन संग जोड्ने लक्ष्य रहेको बताउनुभयो ।
इन्द्रावती गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष रविन्द्र कुमार खातीले यस्ता खाले कामले इन्द्रावतीलाई नमुना बनाउन मद्धत पुर्याउने बताउँदै अक्सिजनको पर्याप्तता हुने धारणा राख्नुभयो । १२ वटै वडामा यसरी वृक्षरोपण गर्न सके फलदायी हुने उहाँको भनाई छ ।
त्यस्तै नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि विल बहादुर तामाङले सिमित स्रोत साधनका बिच पनि यस्ता कार्यक्रम हुनु सराहनिय रहेको बताउनुभयो । “बिरूवा रोपेपछि यहाँ आउने नागरिकलाई आनन्दित बनाओस, अन्यत्रको ब्यक्तिहरू इन्द्रावती आउँदा नमुना इन्द्रावती देख्न पाइयोस ।” सबैले हाम्रो घर वरिपरि रूख बिरुवा रोप्न सके प्रकृति पनि सुन्दर हुने उहाँको भनाई थियो ।
नेपाली कांग्रेसका गाउँपालिका सभापति जीवन कुमार थापा मगरले यस्ता कार्यक्रमले हरियाली मात्र हैन पर्यटकिय गन्तव्य समेत बन्न सक्ने धारणा राख्नुभयो ।
नेकपा एमाले पार्टी प्रतिनिधि लक्ष्यमान तामाङले यो कार्यक्रम एकदमै फलदायी रहेको र यसले हरियाली इन्द्रावती बनाउने बताउँदै यसको दिगोपन हुनुपर्नेमा जोड दिनुभयो ।
नेकपा माओवादि केन्द्र इन्द्रावती प्रतिनिधि राजेश अधिकारी, नेकपा एकीकृत समाजवादीका इन्द्रावती अध्यक्ष इश्वरी अधिकारी लगायतले यस्ता कार्यक्रमले हरियाली नवलपुर बनाउन मद्धत पुर्याउने धारणा राख्नुभयो ।
इन्द्रावती गाउँपालिकाको कार्यालय, नेपाल इन्भेष्टमेन्ट मेगा बैँक, मध्य सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चेतनशिल प्रभाव नेपाल, नौली महादेव महिला बिकास बचत तथा ऋण सहकारी संस्था, निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लि, सब डिविजन वन कार्यालय नवलपुर, राजनितिक दल तथा समाजसेवी लगायतको सहयोगमा भएको कार्यक्रममा वडा अध्यक्षहरू, राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, सहकारी प्रतिनिधि, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि लगायत स्थानियहरूको सहभागिता रहेको थियो ।
वृक्षरोपण कार्यक्रमको लागि सामुदायिक लघुबित्त वित्तिय संस्था द्वारा १० हजार सहयोग गरेको हो । औपचारिक कार्यक्रमको वडा सचिव मदन कुमार भट्टराईले सञ्चालन गर्नुभएको थियो ।