रेडियो मिसन, तालामाराङ ।
वागमती प्रदेश सांसद कृष्ण कुमार तामाङ समिरले मेलम्ची नगरपालिका ६ तालामाराङको आगलागी पिडितलाई सहयोग गर्नुभएको छ । आज एक कार्यक्रमका बिच सांसद तामाङले भरत के.सी को परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको हो ।
सो परिवारलाई ३ महिनालाई पुग्ने खाद्यान्न, दाल, गेडागुडी, चामल, ओड्ने ओछ्याउने, कुकर, पकाउने अन्य भाँडाकुँडा लगायत सामाग्री प्रदान गरिएको नेपाली कांग्रेस मेलम्ची नगर उपसभापती रामशरण गिरिले जानकारी दिनुभयो ।
उपसभापती गिरिको समन्वयमा सांसद तामाङले सो सहयोग गर्नुभएको हो । आगलागी भएको २ दिन सम्म पनि कसैको नजर नपरेकाले सांसद तामाङ सो ठाउँमा पहिलोपटक राहात लिएर पुग्नुभएको हो ।
“हामीले सकेसम्मको सहयोग गर्यौँ,” सांसद तामाङले भन्नुभयो । विपद भनेको जो सुकैलाई पर्न सक्ने बताउँदै तामाङले केही महिनाको लागि भएपनि सहयोग होस भनेर राहात उपलब्ध गराएको बताउनुभयो । सबै निकायमा पहल गरेर भएपनि तत्काल अस्थाई आवास निर्माणको लागि सहयोग गर्ने प्रतिवद्वता उहाँले ब्यक्त गर्नुभएको छ ।
बैशाख २८ गते बिहान ३ बजे सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका ६ बस्ने भरत के.सी को घट्टेपाखा स्थित तल्लो तलामा गाई भैसी बाध्ने र माथील्लो तलामा अन्नपात दाउरा राख्ने गरेको ढुङ्गा माटोले बनेको जस्तापाताले छाएको १ तले कच्ची घरमा अचानक आगोलागी भएको थियो ।
आगलागी हुँदा घर लगायत घर भित्र भएको अन्नपात दाउरा, भुई तलामा बाधेको १ वटा भैसी र १ वटा भैसीको पाडो जलेको थियो । आगलागी हुनुको कारण खुल्न नसकेको उक्त घरमा तिन लाख पचास हजार बराबरको क्षति भएको थियो ।
कार्यक्रममा मेलम्ची ६ का वडा अध्यक्ष प्रेम बहादुर तामाङ, नेपाली कांग्रेस सिन्धुपाल्चाेक जिल्ला सचिव रमेशराज भण्डारी लगायतकाे उपस्थिति रहेकाे थियाे ।