रेडियो मिसन ।
मेलम्ची नगरपालिका वडा नम्बर ९ को प्रशासकिय भवन उद्घाटन गरिएको छ । बुधबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान , प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र, वडा अध्यक्ष किरणदिप खडका लगायतले भवनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले मेलम्ची नगरपालिकाको धेरै वडा कार्यालय निर्माण भइ सकेको बताउँदै बाँकी पनि चाडैं निर्माण सम्पन्न हुने बताउनुभयो । उहाँले पुर्वाधार निर्माणसंगै सेवा लिन स्थानीयलाई अझ सहज हुने बिश्वास व्यक्त गर्नुभयो ।उहाँले प्रदेश र संघले सहयोग गर्न कन्जुस्याइँ गरेपनी नगरले काम गरिरहेको बताउनुभयो ।तामाङले मेलम्ची ९ लगायत समग्र नगरको विकासमा सबै संग हातेमालो गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मेलम्ची ९ पर्यटन र कृषिमा नमूना हुन सक्ने भएकाले सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उपप्रमुख उमा प्रधानले भवन चिटिक्क बनेको भन्दै यसको संरक्षणमा सबैले ध्यान दिन आग्रह गर्नुभयो । उहाँले सम्पुर्ण वडा तथा अन्य स्थान बाल तथा अपांगमैत्री हुनु पर्नेमा जोड दिनुभयो ।
उप प्रमुख प्रधानले १३ वटै वडाको विकासका लागि नगरपालिका लागि परेको बताउदै अब आय आर्जनमा वृद्धि गर्न सामुहिक खेती र कार्य हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्रले नयाँ कार्यालय भवनले सेवा सुविधा लिन सहज हुने बताउनुभयो । मिश्रले जग्गादाताहरु , ठेकदार, श्रमिक कर्मचारीलाई धन्यवाद दिदै आगामी दिनमा समेत यस्तै सम्मान योग्य काम गर्न सुझाउनुभयो ।
कार्यक्रममा वडा अध्यक्षहरु २ का नगेन्द्र खतिवडा , ५ का राजु रायमाझी , १० का अमृत खनाल, इन्द्रावती बहुमुखी क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा जग्गादाता १० जना र ठेकेदार कम्पनिलाई सम्मान गरिएको थियो । समयमै गुणस्तरीय काम गरेकामा निर्माण कम्पनिलाई वडा अध्यक्ष किरणदिप खड्का लगायतले धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले अब मेलम्ची –गुफा सडक पिच सुरुभै आफ्नो कार्यकालमा सम्पन्न गर्मे बताउनुभयो । अन्य सडक र कृषि लगायत क्षेत्रमा इमानदारीका साथ काम गर्ने प्रण गर्नुभयो ।
जुगल हिमशिखर/केदार निर्माण सेवा जेभीले २ करोड ४४ लाख ९७ हजारमा निर्माणको जिम्मा पाएको सो भवन सम्झौता मिति भन्दा ५ महिना अगाडिनै सम्पन्न गरि हस्तान्तरण गरिएको कम्पनीका प्रोपाइटर अमर दोङ्ले जानकारी दिनुभयो ।