इन्द्रावती गाउँपालिका वडा नम्बर ३ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडाले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ को सुरुवातीदेखि हालसम्म भएगरेको विकास निर्माण तथा सेवा प्रवाहको विषयमा वडामा निर्वाचित जनप्रतिनिधिहरू, वडा गत शाखा कार्यलयका प्रमुख तथा प्रतिनिधिहरू लगायत स्थानियको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
इन्द्रावती गाउँपालिकाको सुशासन, जबाफदेहीता र पारदर्शिताको अवधारणा अनुरूप हरेक वर्ष वडा गत र पालिका स्तरीय सार्वजनिक सुनुवाई हुँदै आएको छ । वडा नम्बर ३ को कार्यालयबाट हालसम्म भए गरेका विकास निर्माण र सेवा प्रवाहको विषयमा छलफल गरिएको हो ।
छलफलको क्रममा वडाका स्थानीयले योजना सम्झौतामा ढिलाई भएको, प्रमुख आवस्यकता पूरा हुनेगरि योजना छनोट हुनुपर्ने, वडा कार्यालय केन्द्र भागमा नपरेको लगाएतका समस्याहरु राखेका थिए । साथै लक्षित वर्गको र शिक्षा क्षेत्रका कार्यक्रमहरु आउनुपर्नेमा जोड दिएका छन् ।
जवाफ दिने क्रममा वडा अध्यक्ष भिमसेन थापाले योजनाको काम गर्ने नागरिकले २०% योगदान दिनपर्ने नितिले याेजना सम्झाैता हुन ढिलाई भएको जानकारी दिनुभयो । आर्थिक बर्षको अन्तिमसम्म सबै योजना सम्पन्न हुनेगरि काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । केन्द्रको ठुलाे योजना टेन्डरमा गएको जानकारी दिनुभयो । साथै वडा कार्यालय निर्माण स्थलको बारेमा लामो समयको छलफलले पनि निकास नदीएकोले अब खुतुमेमा नै वडा कार्यालय निर्माण प्रक्रिया अधि बढाईएको उहाँले जानकारी दिनुभयो । वातावरणमैत्री भएकाले खुतुमे राम्रो भएको उहाँको तर्क थियो । शिक्षामा आवस्यक बजेट विनियोजन गरेर काम गर्नुका साथै कुञ्चोक खानेपानीको दिगो व्यवस्थापन गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।
इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा (भोलि फागुन ११ गते) सार्वजनिक सुनवाई कार्यक्रम गरिने रेडियो मिसनका अध्यक्ष सन्तोष सिग्देलले जानकारी दिनुभयो ।