रेडियो मिसन, मेलम्ची ।
मेलम्चीमा सम्पन्न जिल्ला स्तरीय भलिवल प्रतियोगिताको उपाधी सिन्धु योङ्ग स्टार ए मेलम्ची ९ ले हात पारेको छ । फाइनलमा मेलम्ची ७ दुवाचौरलाई ३–१ को सेटमा पराजित गर्दै सिन्धु योङ्ग स्टारले उपाधीमाथी कब्जा जमाएको हो । मेलम्ची ९ ले दुवाचौरलाई २५–२० २५–१८ र २०–२५ र २५–१६ ले पराजित गरेको हो ।
उपाधी सँगै मेलम्ची ९ ले २ लाख नगद हात पारेको छ भने मेलम्ची ७ दुवाचौरले १ लाख रुपैयाँमा चित्त बुझाएको छ । त्यस्तै बनकाली युवा समाज जुगलले तेस्रो स्थान हात पारेको छ । सृजनशिल युवा क्लव दुवाचौर छापलाई ३–२ को सेटमा पराजित गर्दै बनकाली तेस्रो भएको हो । उसले ७५ हजार रुपैयाँ नगद पाएको छ ।
प्रतियोगिताको बिजेतालाई मन्त्री बस्नेतले नगद पुरस्कार सहित सिल्ड मेडल र प्रमाणपत्र बितरण गर्नुभएको कार्यक्रम संयोजक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
प्रतियोगिताको अनुशासित टिम मेलम्ची २ घोषित भयो भने बेस्ट डिफेन्डर सुसान गिरि, बेस्ट सर्बर मेलम्ची ७ का खेलाडी संगम तामाङ, बेस्ट सेटर सिन्धु योङ स्टारका राम गिरि, नबोदित खेलाडी मेलम्ची ७ का सुरेश तामाङ, बेष्ट ब्लकरमा सिन्धु योङ स्टारका सुरज खड्का, उत्कृष्ट स्पाइकर मेलम्ची ७ का रोशन तामाङ र उत्कृष्ट खेलाडीमा सिन्धु योङ स्टारका रमेश खतिवडा घोषित हुनुभएको छ ।
मेलम्ची युवा क्लवको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा २५ गतेबाट सुरु भएको प्रतियोगिताको समापन नेपाल सरकारका स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको हो ।