मेलम्ची । सडक दुर्घटनामा मृत्यु भएका अनेरास्ववियु सिन्धुपाल्चोकका सह–संयोजक नवीन पाण्डेको परिवार संरक्षणार्थ पाँच लाख पन्ध्र हजार प्रदान गरिएको छ ।
विभिन्न समूह एवम् व्यक्तिहरूबाट सङ्कलित पाँच लाख पन्ध्र हजार रुपैयाँ नबालिका नेहारिकाकी आमा र हजुरआमा ( स्व. नबिनकी आमा) को संयुक्त संरक्षकत्व रहने गरि नेहारिकाको शैक्षिक उन्नयनमा खर्च गर्नको लागी रकम हस्तान्तरण गरिएको हो ।
नेकपा एमाले मेलम्ची नगर कमिटीले आर्थिक सङ्कलन अभियान सुरु गरेको थियो । स्वर्गीय नवीन पाण्डे परिवार राहत तथा मृतक पाण्डेकी नाबालिग छोरी नेहारिका पाण्डेको शैक्षिक संरक्षण कोष’ स्थापना गर्दै नगर कमिटीले आर्थिक अभियान सञ्चालन गरेको थियो ।
स्वर्गीय पाण्डेको ६ वर्षीय छोरी निहारिका पाण्डेको शिक्षा दीक्षा र परिवारको आर्थिक स्थिति उकास्नका लागी सुरु गरिएको अभियानमा विभिन्न व्यक्ति तथा सङ्घ संस्थाहरू बाट सहयोग प्राप्त भएको नेकपा एमाले मेलम्ची नगर कमिटीका अध्यक्ष विजयकृष्ण श्रेष्ठले जानकारी दिए । स्वर्गीय पाण्डेको आमा, श्रीमती र एक छोरी छन् ।
गत भदौ ३० गते चौतारा साँगाचोकगढी नगरपालिका–९ घुमाउने डाँडामा ट्याङ्करको ठक्करबाट पाण्डेको निधन भएको थियो । दुर्घटनामा परी मोटरसाइकल चालक पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बाँसखर्कका समीर तामाङ नवीन पाण्डेको मृत्यु भएको हो । मृतक दुवै जना अनेरास्ववियु सचिवालय बैठकका लागि बाह्रबिसे जाने क्रममा दुर्घटना भएको थियो ।