रेडियो मिसन, नवलपुर ।
सिन्धुपाल्चोक क्षेत्र नं १ का संघीय सांसद माधव सापकोटा सुबोधले जुरे पहिरो पीडितको नाममा जनस्तरबाट उठेको रकम फुकुवा गरी उनीहरुलाई नगद नै वितरणको प्रबन्ध मिलाउन माग गर्नुभएको छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद सापकोटाले २०७१ साउन १७ गते जुरेमा गएको भीषण पहिरो पीडितको नाममा जनस्तरबाट उठेको २ करोड ४४ लाख ६४ हजार ६ सय ५७ रुपैंया फुकुवा गरी नगद नै वितरणको प्रबन्ध गर्न माग गर्नुभएको हो ।
पीडितहरुको नाममा उठेको रकम हालसम्म पनि वितरण नहुनु विडम्बना भएको भन्दै सांसद सापकोटाले यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।